नेपालबाट ५ वर्षमा साढे ६ अर्बको चाउचाउ र पास्ता निर्यात, कुन देशमा कति ?



काठमाडौं । नेपालसँग तयारी चाउचाउ तथा पास्ता बेचेर पर्याप्त विदेशी मुद्रा आर्जन गर्न सकिने संभावना देखिएको छ । विदेशी मुद्रा सञ्चितिको दबाब झेलिरहेको नेपालका लागि यी वस्तुले केही हदसम्म भएपनि राहत दिनसक्ने देखिएको हो ।

तर, त्यसका लागि सरकारले सहजीकरण गर्न भने जरुरी छ । सरकारी प्रोत्साहनबिनै निजी क्षेत्रले वितेका ५ वर्षमा साढे ६ अर्ब रुपैयाँभन्दा बढीको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । सरकारले प्रोत्साहन दिने हो भने एक वर्षमै त्योभन्दा बढी निर्यात गर्न सकिने उत्पादकहरुले बताउँदै आएका छन् ।

नेपालले आर्थिक वर्ष २०७४/७५ देखि आव २०७८/७९ सम्ममा ६ अर्ब ७२ करोड १३ लाख ८८ हजार रुपैयाँको ४ करोड २३ लाख ७१ लाख ७०२ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालको वैदेशिक व्यापारघाटा बढ्दो क्रममा छ । नेपालले हरेक वर्ष खर्बौ रुपैयाँको व्यापारघाटा व्यहोर्दै आएको छ । गत वर्ष मात्रै नेपालले २१ खर्ब २० अर्ब ४८ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा १७ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको सरकारी तथ्याङ्कमा छ ।

गत वर्ष नेपालले २ खर्ब मूल्य बराबरको वस्तु निर्यात गर्न सफल भएको छ । जुन सकारात्मक हो । तर, उक्त निर्यातित वस्तुमा ५० प्रतिशतभन्दा बढी आयात गरी प्रशोधन गर्दै निर्यात हुनेको हिस्सा थियो । जसले गर्दा निर्यात मूल्य २ खर्ब रुपैयाँ पुगे पनि आन्तरिक उत्पादनको निर्यात भने निकै कमजोर रहेको सरकारी तथ्याङ्कले उल्लेख गर्दछ ।

त्यस्तै, चालु आर्थिक वर्षको साउन महिनामा मात्रै १ खर्ब १६ अर्ब ४८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । नेपालले साउनमा १ खर्ब ३१ अर्ब २९ लाख रुपैयाँको आयात गर्दा १४ अर्ब ६१ करोड मूल्य बराबरको वस्तु निर्यात गरेको छ ।

नेपालको व्यापारघाटाको अन्तर निकै ठूलो छ । तर, पनि नेपालबाट उत्पादन भइरहेको वस्तुको निर्यातमा सरकारले जोड दिँदै आएको छ । त्यसैगरी, नेपालको व्यापारघाटा कम गर्नका लागि योगदान गर्दै आएको वस्तु चाउचाउ, पास्ता पनि एक हो ।

साथै, चालु आवको साउनमा १८ करोड ७७ लाख २४ हजार रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा १८ करोड ३९ लाख ९३ लाख रुपैयाँको निर्यात गरेको थियो ।

कुन वर्ष कति निर्यात ?

नेपालले ५ वर्षको अवधिमा ६ अर्बको ४ करोड बढी केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । नेपालले आव २०७४/७५ मा ८३ करोड ४१ लाख ९२ हजार रुपैयाँको ५७ लाख ३६ हजार ३३२ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको थियो ।

त्यसैगरी, आव २०७५/७६ मा १ अर्ब १५ करोड ९१ लाख रुपैयाँको ७६ लाख ३५ हजार ८६७ केजी, आव २०७६/७७ मा १ अर्ब ९ करोड ८५ लाख २६ हजार रुपैयाँको ७३ लाख २५ हजार २३३ केजी, आव २०७७/७८ मा १ अर्ब ७९ करोड ५४ लाख ३१ हजार रुपैयाँको १ करोड १७ लाख ६८ हजार केजी र आव २०७८/७९ मा १ अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपैयाँको ९९ लाख ६ हजार २४१ केजी निर्यात गरेको छ । समग्रमा हेर्दा चाउचाउ तथा पास्ताको निर्यात उच्च बढ्दै देखिन्छ ।

कुन-कुन देशमा निर्यात हुन्छ ?

नेपालको पास्ता तथा चाउचाउ युरोप देशमा सबैभन्दा बढी निर्यात हुने गरेको देखिन्छ । भन्सार विभागको तथ्याङ्अनुसार नेपालले अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, इटली, भारत, हङकङ, डेनमार्क, चीन, क्यानडा, भुटान, बेल्जियम र अष्ट्रेलियामा पास्ता तथा चाउचाउ निर्यात गर्दै आएको उल्लेख गर्दछ ।

नेपालले गत वर्ष १५ करोड रुपैयाँको अमेरिकामा, २ करोड ४३ लाख ८१ हजार रुपैयाँको बेलायतमा, २४ लाखको सिंगापुरमा, १४ लाख रुपैयाँको कतारमा र २ करोड ७६ लाख रुपैयाँको मलेसियामा निर्यात गरेको छ ।

त्यसैगरी ४० लाख रुपैयाँको दक्षिण कोरियामा, ३ करोड ४० लाख रुपैयाँको जापानमा, ३ करोड ८९ लाख रुपैयाँको इटलीमा, १ अर्ब ३४ करोड ८२ लाख ९० हजार रुपैयाँको भारतमा, ७७ लाख रुपैयाँको हङकङमा, ३६ लाख रुपैयाँको डेनमार्कमा, ८४ लाख रुपैयाँको चीनमा, ३ करोड रुपैयाँको क्यानडामा, ६७ लाख रुपैयाँको भुटानमा, ३६ लाख रुपैयाँको बेल्जियममा र अष्ट्रेलियामा १४ करोड ३७ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

त्यस्तै, चालु आवको साउन महिनामा १२ करोड २६ लाख ७७ हजार रुपैयाँको भारतमा, २ करोड ५८ लाख रुपैयाँको अष्ट्रेलियामा, ८८ लाख रुपैयाँको जापानमा, १ करोड मलेसियामा, १३ लाख रुपैयाँको सिंगापुरमा, ३२ लाख रुपैयाँको युएईमा र १ करोड ५७ लाख रुपैयाँको अमेरिकामा चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।


क्लिकमान्डु