धितोपत्र बोर्डले तोड्यो ब्रोकरको सिण्डिकेट, नयाँ ब्रोकर खोल्न खुल्यो बाटो



काठमाडौं । धितोपत्र बोर्डले एक साताको अवधिमा दोस्रो पटक धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०७९ को संशोधन गरेसँगै नयाँ ब्रोकर खोल्न बाटो खुलेको छ ।

यसअघि सरकारले उक्त नियमावलीको चौथो संशोधन गर्दै तीन वर्ष ब्रोकर कम्पनी नखोल्ने व्यवस्था गरेको थियो । एक साताको अवधिमा अर्को संशोधनले नयाँ ब्रोकर खोल्न बाटो खोलेको छ ।

नियमावलीको चौथौ संशोधनमा ‘यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था गरेको थियो ।

लगत्तै पाँचौ संशोधन गरेर ‘यो नियमावली प्रारम्भ भएपछि पहिलो पटक धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमतिपत्र जारी भएपछिको प्रत्येक तीन वर्षमा बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

यो सँगै अब एक पटक योग्यता पुगेका ब्रोकरले नयाँ लाइसेन्स पाउनेछन् । त्यसपछि भने तीन/तीन वर्षमा मात्रै नयाँ ब्रोकर थपिने छन् ।

अब खुल्ने ब्रोकरको चुक्ता पुँजी तीन तहमा वर्गीकरण गरिएको छ । जसमा सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलाल सेवा दिने ब्रोकरका लागि ६० करोड र धितोपत्र व्यापारीका लागि १ अर्ब ५० करोड रुपैयाँ हुनु पर्नेछ ।


क्लिकमान्डु