देश चलाउन जनताले माओवादीलाई नै रोजेका छन्ः प्रचण्ड

210
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको दाबी गरेका हुन् ।

स्थानीय तह निर्वाचनबाट देशवासीले देशको राजनीति कता लैजाने भन्नेकुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको उनको भनाइ थियो ।

‘यो पार्टी फेरि एकपटक राम्रो रिभाइभ हुने पूरै सम्भावना छ । माओवादी पार्टी जनतामा अहिले स्थानीय तहको निर्वाचनबाट एउटा सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको भन्नेकुरा प्रष्ट देखिएको छ’ प्रचण्डले भने ।

पार्टीले विधिगत उम्मेदवार खडा गरेपछि सबैले पार्टीको जितको लागि आवश्यक मेहनत गर्नुपर्ने उनले बताए ।