तीन बुँदे सहमतिसहित नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले गर्यो आन्दोलन फिर्ता



काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ३ बुँदे सहमतिसहित आन्दोलन फिर्ता गरेको छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायीमहासंघबीच भएको छलफलबाट ३ बुँदे सहमतिसहित आन्दोलन फिर्ता गरेका हुन् ।

महासंघले हिजो प्रेस विज्ञप्ति जारी गर्दै असोज १ गतेबाट सबै डिपोहरुमा लोड तथा अनलोड कार्य बन्द गर्ने चेतावनी दिएका थिए ।

व्यवसायीहरुले ढुवानीको मूल्य समायोजन नगरेको भन्दै विभिन्न चरणमा आन्दोलन गरेर दबाब दिँदै आएका थिए ।

त्यस्तै, व्यवसायीहरुले गत २४ गतेबाट देशभरका सम्पूर्ण ढुवानी व्यवसायीहरुले भारतीय पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरेको थियो । साथै, कुनै पनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रम माग पूरा नभएसम्म निरन्तर कायम गर्ने र भोलिबाट अमलेखगन्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने महासंघले जनाएको थियो ।

तर, आज भएको छलफलबाट आगामी दिनको आन्दोलन तथा दबाब दिने कार्य स्थगित भएको महासंघले जनाएको छ । ‘आज भएको सहमति र आउँदै गरेको नेपालीहरुको महान चाडपर्वहरुका कारण आमजनताको आवगमनलाई ध्यानमा राखी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरी आजकै मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सञ्चालन हुनेछ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

छलफलबाट महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि तथा आयोजनाका लागि पेश भएका मागका विषयमा व्यवसायीका मागअनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएका प्रतिवेदन आगामी असोज ७ गतेसम्म निर्णय गरी लागू गर्ने सहमति गरेको छ ।

त्यसैगरी, नेपाल पेट्रोलियम टैङ्कर चालक संघ र नेपाल यातायाता स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधिसहित सम्बन्धित संघ तथा संगठनको प्रतिधिनिधहरुको उपस्थितिमा आवश्यक छलफल गरि सम्बोधन गर्ने निर्णय भएको छ ।


क्लिकमान्डु