
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को नेपाल आवसीय प्रतिनिधि टेरेसा दवान सान्चेजले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको कडाइले अप्ठ्यारो अवस्थामा जानसक्ने अर्थतन्त्रलाई सुधार गरेको बताएकी छन् ।
‘मौद्रिक नीतिमा कडाइ नगरेको भए उच्च दरमा बढीरहेको आयात नियन्त्रणमा आउने सम्भावना थिएन्,’ लगानी बोर्डले आयोजना गरेकोको दिगो पूर्वाधार लगानी फोरममा सान्चेजले भनिन्, ‘आयातको वृद्धिदर नरोकिएको भए नेपालको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा पुग्न सक्थ्यो ।’
सान्चेजले वित्तीय स्थायीत्व कायम गर्न राष्ट्र बैंक ऐनमा संशोधन गरेर राष्ट्र बैंकलाई थप शक्तिशाली बनाउनु पर्ने बताइन् । ‘राष्ट्र बैंकको नियमन र सुपरभिजन क्षमता बढाउन आवश्यक छ,’ सान्चेजले भनिन्,‘नियमन क्षमता बलियो हुँदा वित्तीय स्थायीत्व कायम गर्न सकिन्छ ।’
कोरोना महामारीपछि सुधार भइरहेको नेपालको अर्थतन्त्रलाई रसिया र युक्रेन युद्धले प्रभावित गरेको सान्चेजको भनाइ छ ।
‘सरकारले चालु आर्थिक वर्षको बजेट विस्तारकारी बनाएको छैन,’ सान्चेजले भनिन्,‘बजेट सीमाभित्र छ । तर, अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्समा उतारचढाव हुँदा केही समस्या जस्तो देखिएको हो ।’
प्रतिक्रिया