असोज १ गतेबाट पेट्रोलियम ढुवानी बन्द गर्ने व्यवसायीको चेतावनी



काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले असोज १ गतेबाट सबै डिपोहरुमा लोड तथा अनलोड कार्य बन्द गर्ने चेतावनी दिएका छन् ।

महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै आगामी असोज १ गतेबाट देशभरको डिपोमा हुने कार्य बन्द गर्ने चेतावनी दिएका हुन् ।

व्यवसायीहरुले ढुवानीको मूल्य समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् । व्यवसायीहरुका अनुसार सरकारले २०७३ सालदेखि पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाएको छैन । त्यसैले, ढुवानी भाडा वैज्ञानिक ढंगले समायोजन गर्नुपर्ने व्यवसायीको माग छ । तर, सरकारले भाडा समायोजन गर्ने विषयमा चासो नदेखाएले चरणबद्ध रुपमा सेवाहरु बन्द गर्नु पर्न अवस्था आएको व्यवसायीहरुको भनाइ छ ।

महासंघले गत २४ गतेबाट देशभरका सम्पूर्ण ढुवानी व्यवसायीहरुले भारतीय पेट्रोलियम पदार्थ ल्याउने पीडीओ नलिने निर्णय गरेको छ । त्यस्तै, अहिले कुनै पनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रम माग पूरा नभएसम्म निरन्तर कायम गर्ने र भोलिबाट अमलेखगन्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगर्ने महासंघले जनाएको छ । साथै आगामी, असोज १ गतेबाट सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने महासंघको भनाइ छ ।


क्लिकमान्डु