संशोधित ब्रोकर नियमावली जारीः ब्रोकरको पुँजी डेढ अर्बसम्म, नयाँ ब्रोकर खोल्न तीन वर्ष कुर्नुपर्ने



काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीलाई लाईसेन्स दिन र हाल भएको पुँजी वृद्धि गर्ने गरी संशोधन गरेको ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली-२०७९’ जारी भएको छ ।

संशोधित नियमावलीमा ब्रोकरको चुक्ता पुँजी २० करोडदेखि १ अर्ब ५० करोडसम्म हुनुपर्ने व्यवस्था रहेको छ । सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा सञ्चालन गर्नका लागि २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा सञ्चालन गर्नेका लागि ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने छ ।

नयाँ व्यवस्था अनुसार प्रत्येक तीन तीन वर्षमा मात्रै नयाँ ब्रोकर कम्पनीको लाइसेन्स खुल्ला गरिनेछ । बोर्डले यसअघि प्रत्येक वर्ष लाइसेन्स खोल्ने प्रस्तावलाई मन्त्रिपरिषदमा लगेको थियो । उक्त प्रस्ताव संशोधन भएको छ ।

यो नियमावली प्रारम्भ भएपछि तीस दिनको समय दिएर इच्छुक संगठित संस्था वा कम्पनीबाट धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि निवेदन माग गर्न सक्नेछन् ।

यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुविधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन मान गर्ने व्यवस्था गरेको छ ।

यो नियम प्रारम्भ भएको समयमा रहेको ब्रोकर तथा धितोपत्र व्यापारीले २०८२ असार मसान्तभित्र तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउनु पर्दैैन । न्यूनतम पुँजी पुर्याउन नसक्ने भएमा तोकिएको समय सकिनु भन्दा ६ महिना अघि नै बोर्डमा निवेदन दिनुपर्ने छ । नियमावलीमा सञ्चालक समिति र कार्यकारी प्रमुखको योग्यता पनि उल्लेख रहेको छ ।

बोर्डले गत मंगलबार मन्त्रिपरिषदले पारित गरेको नियमावली सार्वजनिक गरेको हो । मन्त्रिपरिषदले पारित गरेको नियमावलीमा बोर्डले चरम असन्तुष्टि जनाउँदै सार्वजनिक गर्न आनाकानी गरेको थियो । बोर्डले फेरि संशोधनका लागि मन्त्रालय पठाएको थियो ।

तर, बोर्डले पठाएको नियमावलीको संशोधन मन्त्रिपरिषदले गरेको छैन । यद्यपि, पूरानै नियमावली बोर्डले पारित गरेको हो ।


क्लिकमान्डु