काठमाडौंका यी क्षेत्रमा आज दिउँसो हुने छ जाम



काठमाडौं । आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको भ्रमणलाई मध्यनजर गर्दै उनी जाने स्थानमा पर्ने सडकमा सवारी आवागमन प्रभावित हु्ने भएको हो ।

लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीले आज साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवनसम्मको सवारी आवागमन प्रभावित हुने जनाएको छ ।

त्यस्तै दिउँसो साढे ३ बजेको समयमा भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माईतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माइतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको कार्यालयले जनाएको छ ।

सवारी जाम हुने रुटहरुको सट्टा बैकल्पिक मार्गहरुको प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा ली नेपालको औपचारिक भ्रमणका क्रममा हिजो काठमाडौं आएका हुन् ।

अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चार दिने भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। यसैगरी उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

नेता लीले यस भ्रमणका क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि अध्यक्ष लीको भेटवार्ता हुनेछ । प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।


क्लिकमान्डु