काँग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा



नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

शुक्रबार सुन्दरीजलमा नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोईरालाको १०९औँ जन्मजयन्तीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई निरन्तर्तामा नविनता थपेर अघि बढाउन आवश्यक रहेको बताए । उनले विगतका कमी कमजोरीलाई आत्मलोचना गरी रुपान्तरित काँग्रेस बनाउनका लागि चालिएका कदमको समीक्षा गर्न आवश्यक भएको बताए ।

उनले नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व रहेको र अर्कोतिर अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर अघि बढ्न जरुरी रहेको बताए । त्यसैगरी, उनले ५ वर्षको सरकारको कुरा नभइ १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्ने पनि बताए ।

शर्माको भनाइ जस्ताको त्यस्तै

हामीले कार्य गरिरहेको दल अब परिवर्तित गरेर नविन बन्नुपर्छ । यसको रुपान्तरण गर्न जरुरी छ । रुपान्तरण साँझ र बिहान जस्तो हुँदैन । समय लाग्छ । ७० वर्षदेखि एउटा धारामा बगेको दल छ । अहिले नेपाली काँग्रेसको घोषणापत्र लेख्ने जिम्मेवारी पाएको बेलामा निरन्तरतामा नविनता ल्याउनुपर्छ । ७० वर्षको निरन्तर यात्रालाई अघि बढाउँदै नविनता पनि अघि बढाउनु पर्छ । वर्षमा भएका कमजोरीलाई हामीले आत्मलोचना गरेर जानुपर्छ । एक वर्षमा हुन खोजेका प्रयत्नहरुमा सार्थकता किन हुन सकेन भनेर खोज्नुपर्छ । काँग्रेसलाई रुपान्तरित गरेर जाने भन्ने यो वर्षमा भएका कामहरुलाई पनि समीक्षा गर्नुपर्छ । नेपाली काँग्रेसलाई एकातिर बदलिएको बलियो काँग्रेस बनाउने दायित्व छ, अहिलेको राष्ट्रिय राजनीतिको प्रतिकुलताको बीचमा नेपाली काँग्रेसलाई बलियो दलको रुपमा बहुमतको लक्ष्य लिएर सँगैका सहयात्रीलाई साथमा राखेर केवल निर्वाचनपछिको ५ वर्षको सरकारको कुरा मात्रै होइन, १५ वर्षको सपनामा नेपाललाई लैजानुपर्छ । निर्वाचनको घोषणापत्र लेख्दा सबै पक्षलाई समेटेर लेख्नुपर्छ ।

नेपाली काँग्रेस पार्टीको सदस्य हुनुको नाताले उज्यालो अनुहार बनाएर, नागरिक पंक्तिमा हामीले हाम्रा कमजोरीहरु जे भएपनि त्यसलाई आत्मालोचना गरेर मंसिर ४ गते नेपाली काँग्रेस पार्टीलाई बलियो दलको रुपमा बहुमत लक्षित दलको रुपमा उभ्याउन हामी लागि पर्नेछौँ । देशव्यापी रुपमा नेपाली काँग्रेस पार्टी पंक्तिले कमजोरी गरेन भन्दैन । भएका कमजोरीलाई जनताको बीचमा आत्मालोचना गरेर, कमीकमजोरी नदोहो¥याउने प्रतिवद्धता व्यक्त गरी, मुलकको सही नेतृत्व गरेर मुलुकलाई गति दिन्छौँ । नेपाली काँग्रेस पार्टीले २१औं शताब्दीको विषयलाई सम्बोधन गर्नसक्ने गरी घोषणापत्र निर्माण गर्ने कामको शुरुवात गर्दैछ । आज मानिसहरुको बीचमा आशंका छ । कतै नेपाल श्रीलंका हुने त होइन भन्ने आशंका छ । तर यो भ्रमपूर्ण प्रचार हो । अहिले नेपालको अवस्था त्यो छैन । उनीहरुले २५ वर्ष लामो हिंसा व्यहोरे, हामीले १० वर्षको हिंसा व्यहोर्यौं । उनीहरुले हिंसालाई बन्दुकले समाधान गरे, हामीले वार्ताबाट समाधान गर्यौं । उनीहरुले ऋणमाति ऋण लिए, हामीले ऋण भन्दा अनुदानमा जोड दियौँ । तर विगतमा बनाएका ठूला प्राजेक्ट शुरु गर्दैगर्दा कतै हामी ऋणमा त डुब्दै छैनौँ ? ऋणको पासोमा नेपाल पनि भविष्यमा पर्ने त होइन ? ऋण लिने कुरामा बुद्धिमता नपुर्याउँदा कमजोरी हुने त होइन ? घोषणापत्र लेख्दा यी कुरामा पनि ध्यान दिनेछौँ ।’


क्लिकमान्डु