अर्थमन्त्री शर्माको प्रश्नः पहाड फोरेर ढुंगा बिक्री गर्न किन मिल्दैन ? हाम्रो सोचमा समस्या भएसम्म लगानी आउँदैन



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पहाड खनेर बिक्री गरौं भन्ने प्रस्ताव गर्दा देश बिक्री गरेको आरोप लाग्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा मन्त्री शर्माले आफ्नो देशमा भएको स्रोत प्रयोग नगरी कुनै पनि देशमा लगानी बढ्न नसक्ने शर्माले बताए ।

‘ढुंगा बिक्री गर्न मिल्दैन भनिन्छ । पहाड फोरेर ढुंगा बिक्री गर्न किन मिल्दैन् ? काठ बिक्री गर्न नमिल्ने, जडिबुटी बिक्री गर्न नमिल्ने ?’ शर्माले भने,‘अदालतले पनि ढुंगामा, जंगलमा र प्राकृतिक स्रोतका हातै लगाउन मिल्दैन भन्छ । यहाँ कसैले पनि सबै जंगल काट्ने र सबै पहाड फोड्ने कुरा गरेको छैन नि !’

कार्यक्रममा शर्माले नेपालको विदेशी निकायसँग वार्ता गर्ने क्षमता कमजोर हुँदा अपेक्षाअनुसार विदेशी लगानी आउन नसकेको बताए ।

नेपालमा कस्तो पूर्वाधार बनाउने भन्ने नीति नहुँदा पनि सरकारको सिमित स्रोत छर्नु परेको शर्माको भनाइ छ ।

‘कुन पूर्वाधार आवश्यक छ, कस्तो पर्यटन पूर्वाधार चाहिएको हो, कुन विमानस्थल आवश्यक छ भन्ने योजना छैन,’ शर्माले भने, ‘यो राजनीतिक समस्या हो । हामीले यो समस्या समाधान नगर्दासम्म हाम्रो पूर्वाधारको समस्या समाधान गर्न सकिँदैन ।’

शर्माले पूर्वाधार निर्माणका क्षेत्रमा सुशासन नहुनु अर्को समस्या भएको बताए ।

‘मन्त्री भएर यस्तो भनिस् भन्नु होला,’ शर्माले भने, ‘मैले भएकै समस्या भनेको हो । समयमा पूर्वाधार नबन्ने समस्या छ । हामी सुशासन कायम गर्ने प्रयास गरिरहेका छौँ ।’

पूर्वाधार निर्माण देश र राष्ट्रका लागि भन्दा पनि व्यक्तिगत फाइदा हेरर गर्ने प्रवृत्तिसमेत नेपालमा हाबी भएको शर्माको भनाइ छ ।

‘हाम्रो सोचमा समस्या छ । हामी विकासको आवश्यकता भन्दा पनि परम्परागतले तरिकाले मात्रै सोच्ने गर्छौं,’ उनले भने, ‘विकासका विषयमा हाम्रो सोच परिवर्तन हुनुपर्छ । ’

नेपालमा बचत गर्ने संस्कार नहुँदा समेत ठूला पूर्वाधारमा लगानी गर्न स्रोतको अभाव भइरहेको शर्माले बताए ।

‘विदेशी लगानी ल्याउन हाम्रा नीति निकै कसिला छन् । राष्ट्र बैंकको नीति कसीलो छ, अर्थमन्त्रालयको नीति कसिलो छ, वन मन्त्रालयको नीति कसिलो छ,’ उनले भने,‘कसिलो नीतिले देश विकास हुँदैन । हामीले हाम्रो सोच परिवर्तन गर्नै पर्छ ।’


क्लिकमान्डु