५ वटा क्याम्पस, वीर अस्पताल र रंगशालालाई १० दिनभित्र कर तिर्न महानगरको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले ५ वटा सरकारी क्याम्पस, वीर अस्पताल र दशरथ रंगशालालाई १० दिनभित्र बहाल कर तिर्ने निर्देशन दिएको छ ।

महानगरपालिका अन्तर्गतको राजस्व विभागले शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस र नेपाल कमर्श क्याम्पसलाई १० दिन भित्र कर र करमा लाग्ने जरिवाना तिर्ने निर्देशन दिएको हो । यस्तै महानगरले वीर अस्पताल र दशरथ रंगशालालाई पनि १० दिन भित्र कर र त्यसमा लाग्ने जरिवाना तिरिसक्न भनेको छ ।

बिहीबार सबै निकायलाई पत्राचार गर्दै महानगरले कर तिर्ने १० दिने निर्देशन दिएको हो । महानगरको निर्देशनमा ‘बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकोले काठमाडौं महानगरपालिकाको सम्वन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकामा हालसम्म पनि नबुझएको हुँदा तहाँको बहाल आम्दानीको विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्वन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ’ भनिएको छ ।

उक्त समयमा कर नतिर्नेलाई महानगरले राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने समेत जानकारी गराएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पछिल्लो समय कर नतिर्ने सरकारी निकायलाई कारको दायरामा ल्याउन लागेका छन् ।


क्लिकमान्डु