मन्त्रिपरिषदले यी ६ वस्तुमा करका दर हेरफेर गर्यो, तयारी सेनिटरी प्याड र विद्युतीय गाडीमा भने यथावत



काठमाडौं । सरकारले विभिन्न ६ वस्तुमा लाग्दै आएको करका दर हेरफेर गरेको छ । २१ गते बसेको मन्त्रिपरिषदको बैठकले करका दर हेरफेर गरेको हो ।

बिहीबार मुख्यसचिव शंकरदास बैरागीले मन्त्रिपरिषदको २१ गतेको बैठकले करका दर हेरफेर गर्ने निर्णय गरेको जानकारी अर्थ मन्त्रालयलाई गराएका छन् ।
अर्थ मन्त्रालयले आजै राजपत्रमा सूचना प्रकाशित गर्नका लागि कानून मन्त्रालयलाई जानकारी गराइसकेको छ ।

राजपत्रमा सूचना प्रकाशित भएपछि परिवर्तित करका दरहरु भन्सार विभागले कार्यान्वयन गर्नेछ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार एमएस बिलेटको अन्तशुल्क प्रतिमेट्रिकट १००० रुपैयाँले घटाइएको छ । त्यस्तै, ध्यू-तेल उद्योगमा पहिला १० प्रतिशत रहेको भन्सार महशुलमा ९० प्रतिशत छुट दिँदै १ प्रतिशत कायम गरिएकोछ ।

त्यसैगरी, सहकारीको आम्दानीमा लाग्ने आयकरलाई समेत संशोधन गरिएको छ । महानगरभित्रका सहकारीलाई लाग्दै आएको ७ प्रतिशत करलाई संशोधन गर्दै ५ प्रतिशत कायम गरिएको छ ।

वायर रडमा १० प्रतिशत रहेको भन्सार महशुललाई ५ प्रतिशत बनाइएको छ । सेनिटरी प्यााडको कच्चा पदार्थमा १ प्रतिशतमात्रै भन्सार शुल्क लाग्ने र अन्तशुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

अगरबत्तिको अन्तशुल्क उद्योगीको माग अनुसार घटाइएको छ ।

तर, तयारी सेनिटरी प्याडमा विगतमा घटाइएको भन्सार महशुललाई भने यथावत राखिएको छ ।

त्यस्तै, विद्युतीय गाडी लगायतमा बढाइएको भन्सार महशुल भने यथावतै राखिएको छ ।

आर्थिक ऐनमा मन्त्रिपरिषदले करका दर हेरफेर गर्नसक्ने विशेष अधिकारी दिएको छ । सरकारले उक्त अधिकारको प्रयोग गर्दै संसदले पारित गररिसकेको करका दरहरु हेरफेर गरेको हो ।

सरकाले गत जेठ १५ गते बजेटमार्फत् करका दरहरु हेरफेर गरेको थियो । सीमित व्यक्तिको स्वार्थमा अर्थमन्त्रीले करका दरहरु हेरफेर गरेको आरोप लाग्दै आएको थियो भने कतिपय हेरफेर करका दरहरु परिवर्तन गर्न माग गर्दै उद्योगी व्यवसायीले आन्दोलनसमेत गरेका थिए ।
व्यवसायीहरु आन्दोलनमा उत्रिएपछि सरकारले करका दरहरु हेरफेर गर्न कमिटि नै गठन गरेको थियो । उक्त कमिटिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले ६ वस्तुमा लाग्दै आएका करका दरहरु हेरफेर गरेको हो ।


क्लिकमान्डु