नेपालको अर्थतन्त्र स्वस्थ छैनः उद्योगमन्त्री बडू



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताएका छन् । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले गर्दा समस्या आएको बताएका हुन् ।

मन्त्री बडूले कोरोना र रूस युक्रेनबीचको द्वन्द्वले गर्दा उद्योगहरू शिथिल बनाएको बताए । साथै, पछिल्लो समय आयात उच्च बढेको छ भने निर्यात अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ ।

त्यसैले सरकारले चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिनका लागि विभिन्न कार्य अगाडि बढाएको उनले जिकिर गरे।

‘सरकारले यो वर्ष आयात कम गर्ने र निर्यातमा प्रोत्साहन गर्नका लागि आवश्यक कार्य अगाडि बढाएको छ,’ मन्त्री बडूले भने ।

त्यस्तै, सरकारले यो वर्षदेखि बन्द भएका रूग्ण उद्योग सञ्चालनका लागि आवश्यक ऐन, कानुन, कार्यविधि , नियमावलीको कार्य अगाडि बढाएको बताए । साथै, सरकारले उत्पादन बढाउनका लागि सुस्त गतिमा चलेका उद्योग पूर्णरूपमा सञ्चालन गर्ने तयारी भइरहेको उनले उल्लेख गरे ।

मन्त्रीकाअनुसार देशमा भएको उद्योग पूर्णा सञचालनमा ल्याई रोजगारी सिर्जना हुने र जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।

यो वर्षदेखि ७ वटै बन्द रहेका रूग्ण उद्योग सञ्चालनमा आउने

मन्त्री बडूले यो वर्षदेखि ७ वटै बन्द रहेको रूग्ण उद्योग सञ्चालनमा आउने बताएका छन् । उनकाअनुसार गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, बिराटनगर जुट मिल र हेटौंडा कपडा उद्योग सञ्चालनका लागि मन्त्रालयले गठन गरेको समितिेले अध्ययन गरेर अर्थमन्त्रालयमा पठाएको छ ।

‘मन्त्रालयले सञ्चालनका लागि विकल्पसहितको सञ्चालन मोडालिटी तयार गरी मन्त्रिपरिषदबाट पारित गराई यसै वर्ष बन्द उद्योग सञ्चालन गर्ने गरी अर्थ मन्त्रालयको निजीकरण इकाइमा पेश गरेको छ,’ मन्त्रीले भने ।

साथै, उद्योग सञ्चालनका लागि आवश्यक ऐन, कानुनको कार्य तीब्र गतिमा भइरहेको उनको भनाइ छ ।


क्लिकमान्डु