जनार्दन शर्मालाई हुर्काउने र रक्षा गर्ने मै हूँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सपना पार्टी नेतृत्व गर्ने धेरै उत्तराधिकारीहरु तयार होउन् भन्ने रहेको बताएका छन् ।
अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा अर्थमन्त्रीसमेत रहेका उपमहासचिव जनार्दन शर्माले आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रुपमा बोल्न उपस्थित भएको बताएका थिए । उनले नीति र नेतृत्व सही ढंगले चल्नुपर्ने बताएका थिए ।
‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन ’ उनले भनेका थिए ।
शर्मापछि बोलेका प्रचण्डले त्यसको जवाफ दिएका छन् । जनार्दनलाई रक्षा गर्न र हुर्काउन आफ्नो मूख्य भूमिका रहेको प्रचण्डले बताए ।
‘जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा र विकास गर्नेमा पनि’ प्रचण्डले भने ।
आफूले जनयुद्धको र गणतन्त्र ल्याउन नेतृत्वदायी भूमिका खेलेको भन्दै प्रचण्डले आफ्नो सपना पार्टीमा उत्तराधिकारी तयार हुन् भन्ने रहेको बताए ।
‘जनयुद्ध तयारीको नेतृत्व संविधान सभा गणतन्त्रको नेतृत्व गरें । मेरो लागि धेरै भएको छ’, प्रचण्डले भने, ‘मेरो सपना के हो भने धेरै उत्तराधिकारीहरु तयार हुन् । तिनले होल पार्टीलाई एकतावद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत र क्रान्तिकारी विरासत जोगाउन ठूलो छाती लिएर अघि बढुन् ।’
केन्द्रीय समिति गठन भएको लामो समयसम्म प्रचण्डले पार्टी पदाधिकारी चयन गर्न सकेका थिएनन् । केही समयअघि मात्र उनले महासचिवका दुई आकांक्षी शर्मा र वर्षमान पुनको सट्टा देव गुरुङलाई महासचिव बनाएका थिए ।
गुरुङलाई प्रचण्डको उत्तराधिकारीको रुपमा हेरिएको छ । तर गुरुङलाई महासचिव बनाउने निर्णयमा शर्माले असन्तुष्टि जनाएका थिए ।