कर्मचारीको तलब खुवाउन पनि विदेशीसँग माग्नुपर्ने बेला आयो, देशको दुर्गतिमा जिम्मेवार को हो ?: देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले देशको अवस्था चिन्ताजनक भएको बताएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले चिन्ता र आक्रोश व्यक्त गरे ।

कर्मचारीको सहयोगबिना देश अघिबढ्न नसक्ने बताउँदै प्रधानमन्त्री देउवाले देश बनाउन सबै जिम्मेवार हुनुपर्ने बताए । साथै उनले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको समेत बताए ।

‘देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी छ,’ उनले भने, ‘देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्यूरोकेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ ।’

उनले कर्मचारीहरु दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघिबढ्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । स्थानीय, प्रदेश र केन्द्रिय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसक्नु दुखको कुरा भएको प्रधानमन्त्रीको भनाइ थियो ।

उनले कर्मचारीहरुले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने बताए । उनले कर्मचारीहरु नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले मात्रै गरेर केही नहुने बताए ।

‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ । हामी अस्थायी सरकार हो । तपाईंहरु त पेन्सनसम्म हुनुहुन्छ नि,’ कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘कामै भएको छैन, देशको दुर्गति छ । बाटो बन्दैन, कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ ।’

२५ वर्षसम्म पनि एउटा बाटो नबनेको भन्दै यसरी देशको विकास हुन नसक्ने देउवाले प्रष्ट पारे ।

‘नीतिले मात्रै केही हुनेवाला छैन, जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन तबसम्म देश अघिबढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी छ । स्थानीय, प्रदेश, केन्द्रिय ब्यूरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ?,’ उनले प्रश्न गरे, ‘तपाई (कर्मचारी)हरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? अनि कसरी देश अघिबढ्न सक्छ ?’

देशको ढुकुटी रित्तिदै गएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले गंभीर चिन्ता व्यक्त गरे ।

‘देशमा पैसा नै छैन, कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलव दिनपनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो,’ उनले भने, ‘काम हुनुपर्छ नि । देशको आम्दानी हुनुपर्छ नि ।’

जनताको सेवा गर्ने पहिलो माध्यम त कर्मचारीतन्त्र भएको बताउँदै कर्मचारीले नै काम नगरी देश बन्न नसक्ने ठोकुवा गरे ।

‘अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ । कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन,’ उनले भने, ‘सबै जिम्मेवार हुनुपर्छ । जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि । त्यही भएर तपाईहरु काम गर्नुहोस् । के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ ।’


क्लिकमान्डु