सरकारीसहितका १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन महानगरको पत्र
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १७ संस्थालाई १० दिनभित्र सम्पत्ति कर बुझाउन पत्र काटेको छ ।
महानगरपालिकाका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले सरकारी संस्थानसहितका विभिन्न संस्थाहरुलाई सम्पत्ति कर बुझाउन पत्र काटेका हुन् ।
खाद्य संस्थान, ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर अफ कमर्स , कर्मचारी सञ्चय कोष, नेपाल विद्युत प्राधिकरण, नेशनल ट्रेडिङ्ग लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थान, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, आर.वि कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल प्रालि, डेन्टल कलेज, सामाखुशीलाई सम्पत्ति कर बुझाउन भन्दै महानगरले पत्र काटेको हो ।
‘काठमाडौं महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटक पटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुझएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारवाही गरी बाँकी कर रकम सरकारी बाँकी सरह असूलउपर गरिने व्यहोरा जानकारीको लागि अनुरोध छ’ डा. अधिकारीको पत्रमा भनिएको छ ।
यसअघि महानगरले काठमाडौं फनपार्क र क्यासिनोहरुलाई कर तिर्न पत्र पठाएको थियो ।