गठबन्धनमा सिट बाँडफाँट सम्भव छ/छैन भन्ने प्रश्न उठिरहेको छ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा प्रदेश सभा र प्रतिनिधि सभामा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको बताएका छन् ।

अध्यक्ष नेपालले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको बताए ।

काठमाडौंमा मंगलबारबाट सुरु भएको पार्टी निकट नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढन चाहिरहेको उल्लेख गरे ।

‘अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौं । यो तालमेल गर्दैअघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँट गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ । हामीले सम्भव तुल्याउन चाहिरहेका छौं’ उनले भने ।

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अब काठमाडौं र सदरमुकाममा नेताहरु बस्ने नभइ बस्तीबस्तीमा जानु पर्ने उनले बताए ।


क्लिकमान्डु