तारे होटलका क्यासिनोलाई कर तिर्न महानगरको ७ दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले ७ वटा तारे होटलका क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले म्यारियट होलतको डेल्टीन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासनो, र्‍याडिसन होटलको क्यासिनो र्‍याट, हायात होटलको प्राइड इन्टरटेनमेन्ड एण्ड रिक्रीएसन, सोल्टी होटलको माजोङ इन्टरनेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई ७ दिनभित्र कर तिर्न निर्देशन दिएको हो ।

बागमती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था भए अनुसार बुझाउनु पर्ने कर ७ दिनमा तिर्न महानगरले पत्र काटेको हो ।

ती क्यासिनोहरुलाई आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म प्रदेश आर्थिक ऐनले तोकेको दररेटमा हालसम्मको मनोरञ्जन कर तिर्न महानगरले निर्देशन दिएको हो ।

आर्थिक वर्ष ७५/७६,७६/७७ मा प्रवेश शुल्क/ टिकट मूल्यको पाँच प्रतिशत मनोरञ्जन कर लाग्ने व्यवस्था बागमती प्रदेशको आर्थिक ऐनमा गरिएको थियो । यस्तै पछिल्ला तीन आर्थिक वर्षको प्रदेश आर्थिक ऐनमा प्रतिव्यक्ति ५० रुपैयाँ मनोरञ्जन कर लाग्ने व्यवस्था गरिएको छ ।

क्यासिनोमा प्रवेश गरेका व्यक्तिको जानकारी प्राप्त भएपछि मात्रै कुन क्यासिनोले कति मनोरञ्जन कर तिर्नुपर्छ भन्ने एकिन हुने काठमाडौं महानगरपालिकाको राजस्व महाशाखा प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

७ दिनभित्र कर नबुझाए महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह कर असुलउपर गर्ने जनाएको छ । पर्यटन ऐनमा गरिएको प्रस्तावित संशोधन अनुसार कुनै पनि तहको सरकारलाई कर वा राजस्व तिर्न बाँकी रहे क्यासिनोको नवीकरण नहुने व्यवस्था गरिएको छ । जसले गर्दा क्यासिनोहरुले महानगरपालिकामा मनोरञ्जन कर नतिरे क्यासिनो इजाजतपत्र नवीकरण गर्न सक्ने छैनन् ।


क्लिकमान्डु