बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता, स्वदेशी लगानीमै बन्ने टुंगो



काठमाडौं । बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड दर्ता भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा शुक्रबार बुढीगण्डकी जलविद्युत् कम्पनी दर्ता भएको हो ।

गत चैतमा मन्त्रिपरिषद्ले १२ सय मेगावाट उत्पादन क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना कम्पनी मोडलमा स्वदेशी लगानीबाटै बनाउने निर्णय गरेको थियो ।

प्रस्तावित १२ सय मेगावाट क्षमताको यो जलविद्युत आयोजना निर्माण गर्दा गोरखा र धादिङका २७ गाँउका ३५ सय बढी घरपरिवार विस्थापित हुने बताइएको छ ।

बुढीगण्डकी जलिवद्युत आयोजना स्वदेशी लागनीमा निर्माण गर्ने भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा अतिरिक्त पाँच रुपैयाँ कर लगाउने निर्णय गरेको थियो ।

यो आयोजना स्वदेशी लगानीमा बनाउने वा विदेशी कम्पनीलाई दिने भन्ने विषयमा नेपालका राजनीतिक दलको समान धारणा बन्न सकेको थिएन ।

२०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिना प्रतिस्पर्धा बुढीगण्डकी बनाउने जिम्मा चिनियाँ कम्पनीलाई दिएका थिए ।

तर २०७४ साल कात्तिक २७ गते शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बुढीगण्डकी स्वदेशी लागनीमा बनाउने भन्दै चिनियाँ कम्पनी गेजुवालाई दिइएको अनुमति रद्द गरेका थिए ।

त्यसपछि २०७५ सालमा दोस्रो पटक प्रधानमन्त्री भएका ओलीले देउवाको निर्णय खारेज गर्दै पुन: बुढीगण्डकी बनाउने जिम्मा चिनियाँ कम्पनीलाई दिएका थिए ।

२०७८ सालमा देउवा पुन प्रधानमन्त्री भएपछि कम्पनी मोडेलबाटै बुढीगण्डकी स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय भएको थियो । यो आयोजना निर्माण सम्पन्न गर्न २ खर्ब ५९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु