४५ दिनमा १४ अर्ब ९ करोड १० लाख वैदेशिक अनुदान र ऋण सम्झौता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा वैदेशिक ऋण र अनुदान गरि १४ अर्ब ९ करोड १० लाख रुपैयाँ लिने सम्झौता गरेको छ ।
अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको चालु आवको डेढ महिनाको प्रगति विवरणमा दातृ निकायसँग गरेको सम्झौताबारे जानकारी गराइएको छ ।
मन्त्रालयका अनुसार प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिमका लागि स्वीट्जरल्याण्ड सरकारसँग ९९ करोड १० लाख रुपैयाँ बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता भएको छ ।
त्यस्तै नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नेपाल सरकार र विश्व बैंकबीच करिब १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र मानव श्रोत विकास सम्बन्धमा जापान सरकारसँग ३५ करोड बराबरको अनुदान सहायता प्राप्तिको लागि सम्झौता गरिएको मन्त्रालयले प्रगति विवरणमा उल्लेख गरेको छ ।