५ मन्त्रालयका लागि अधिकृत तहका साढे ६ सय अस्थायी दरबन्दी सिर्जना



काठमाडौं । सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रमका लागि ६ सय ६३ अधिकृत तहका अस्थाई दरबन्दी सिर्जना गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीका अनुसार ऊर्जा मन्त्रालयका लागि अधिकृत तहका ४३१ अस्थायी दरबन्दी स्वीकृत गरिएको हो । यस्तै, चिकित्सा शिक्षा आयोगका र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका कार्यक्रमका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

यसका साथैं कृषि तथा पशु पक्षी विकास मन्त्रालयका लागि ५०, वन तथा वातावरण मन्त्रलयका लागि ४७ र उद्योग वाणिज्य मन्त्रालयका लागि ३० पद सिर्जना गरिएको हो । अस्थायी दरबन्दी स्वकृत भएको छ ।

मन्त्रीपरिषदले सिर्जना गरेका नयाँ दरबन्दी अस्थायी भएपनि ती पदहरुमा स्थायी कर्मचारीबाटै पदपूर्ति गरिने मन्त्री कार्कीले जानकारी दिए ।

‘सरकारले नयाँ व्यक्तिलाई नियुक्ति गर्न अस्थाई दरबन्दी सिर्जना गरेको हो । हाल सिर्जना भएका पदमा स्थायी कर्मचारी नै नियुक्त हुन्छन्,’ कार्कीले भने ‘आयोजना र कार्यक्रमहरु अस्थायी प्रकृतिका हुने र ती ठाउँमा स्थायी दरबन्दी सिर्जना गर्दा आयोजना समाप्त भएपछि कर्मचारी व्यवस्थापन गर्न समस्या आउने र अनावश्यक आर्थिक दायीत्वसमेत बढ्ने भएकाले स्थायी कर्मचारी खटाउने गरी अस्थायी दरबन्दी सिर्जना गरिएको हो ।’


क्लिकमान्डु