विद्युत निर्यातले व्यापारघाटा कम गर्न महत्त्वपूर्ण योगदान पुग्छः मन्त्री भुसाल



काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापारघाटा कम गर्न महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन् ।

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको जानकारी गराइन् ।

उनले मुलुक भित्रकै जलस्रोतबाट विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको धारणा राखिन । मन्त्री भुसालले यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिब ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको भन्दै अब उत्पादित विद्युत खपत बढाउने एक मात्रै माध्यम विद्युतीय यातायातको विकल्प नभएको बताइन ।

मन्त्री भुसालले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोच जस्तो विकास नभएको बतइन् । उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा शंकट भएको बताइन् । मन्त्री भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने उल्लेख गरिन । भुसालले विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने तर्क गरिन ।

मन्त्री भुसालले आत्मनिर्भर अर्थतन्त्रका लागि सञ्चारमाध्यमहरुले जलविद्युतको विकासमा जोड दिनुपर्ने बताइन् । उनले पछिल्लो समय मुलुकमा विद्युतीय सवारीसाधनको माग अत्याधिक रहेको उल्लेख गरिन ।


क्लिकमान्डु