कडाइ गरिएका वस्तु साउनमा मात्रै २५ अर्बको आयात, कुन कति ?



काठमाडौं । उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएको सरकारले कडाइ गरेका विभिन्न वस्तुकाे आयात साउनमा मात्रै २५ अर्ब रुपैयाँ बराबरकाे भएकाे छ । सरकारले आयातमाथि गरेको कडाइ भदौ १४ (आज) सम्मका लागि हो । यसलाई निरन्तरता दिने वा हटाउने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने छ ।

सरकारले आयातलाई निरुत्साहित गर्न विभिन्न वस्तुमा एलसी (प्रतितपत्र) मार्जिन तथा १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियाे । तर, कडाइ गरेका सोही वस्तु साउन महिनामै २५ अर्ब २१ करोड ७६ लाख १० हजार रुपैयाँको आयात भएकाे छ । आयातित वस्तुबाट नेपालले १० अर्ब १० करोड ४५ लाख ६८ हजार रुपैयाँ भन्सार महशुल संकलन गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३३ अर्ब ८७ करोड ९६ लाख ८८ हजार रुपैयाँको वस्तु आयात गरेको छ । साथै, आयातित वस्तुबाट नेपालले १५ अर्ब ११ करोड ११ लाख २४ लाख रुपैयाँ भन्सार महशुल संकलन गरेको थियो ।

भन्सार विभागको तथ्याङ्कअनुसार सरकारले कडाइ गरेका वस्तुको आयातमा २५.५६ प्रतिशतले कमी आएको छ । कडाइ गरिएका वस्तुको आयातमा गत वर्षको तुलनामा यो वर्ष ८ अर्ब ६६ करोड २० लाख ७८ हजार रुपैयाँले कमी आएको हो ।

राष्ट्र बैंकले २०७८ को पुस ५ गते पहिलोपटक २० वटा वस्तुको आयातमा एलसी (प्रतितपत्र) मार्जिनको व्यवस्था गरेको थियो । २० वटा वस्तुको आयातमा कडाइ गरेको महिना दिनमै पुनः माघ २६ गते थप २७ वटा वस्तुको आयातमा एलसीको व्यवस्था गरेको थियो ।

साथै, राष्ट्र बैंकले आयातमा निरुत्साहित गर्ने उद्देश्यका साथ कडाइ गरे पनि आयात नघटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी १० वटा वस्तुको आयातमा पूर्णप्रतिबन्ध लगाएको थियो । उक्त व्यवस्था हाल पनि कायमै छ । जसले गर्दा आयातमा कमी आएको तथ्याङ्कले उल्लेख गर्दछ ।

नेपालले साउनमा मात्रै १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात गरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको आयात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष कडाइ नीतिले आयात घटेको देखिन्छ ।

त्यस्तै, सरकारले प्रतिबन्ध लगाइएको कतिपय वस्तुको आयात ठप्प छ भने कतिपय वस्तुको आयात भइरहेको छ । त्यस्तै, प्रतिबन्ध लगाइएको वस्तुको आयातमा कमी आएपनि सोही प्रकारका वस्तुको उत्पादन गर्नका लागि आवश्यक कच्चा पदार्थ भने उच्च आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार सरकारले प्रतिबन्ध लगाइएको मदिरा र सुर्तिजन्य वस्तुको आयात ठप्प हुँदा सोही वस्तु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उच्च आयात भएको देखाउँछ ।

त्यसैगरी, शतप्रतिशत मार्जिनको व्यवस्था गरेको कतिपय वस्तुको आयातमा उच्च कमी आएको छ भने कतिपय भने बढेको देखिन्छ ।

विभागका पुण्यविक्रम खड्काले साउन महिनामा प्रतिबन्ध लगाइएको वस्तु पनि आयात भएको देखिन्छ । सो वस्तुहरू वैशाख अगाडि नै एलसी खोलेको हुनाले आयात भइरहेको बताए ।

‘एलसीको ६ महिनाको अवधि हुन्छ । अहिले आयात भएको वस्तुको विवरण हेर्दा प्रतिबन्ध लगाएकोभन्दा अगाडि एलसी खोलेको देखिन्छ,’ उनले भने ।

त्यस्तै, कतिपय वस्तुको आयात शून्य हुँदा कच्चा पदार्थ भने उच्च बढेको उनले बताए ।

‘सरकारले उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ । जसमा तयारी वस्तुको साट्टो कच्चा पदार्थ आयात भइरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

त्यसैगरी, शतप्रतिशत मार्जिनको व्यवस्थाले आयातमा प्रभाव परेको विभागको भनाइ छ । गत वर्ष आयातमा कुनै कडाइ थिएन । तर, यो वर्ष सरकारले गत पुसदेखि कडाइ गरेको छ । यसको प्रभाव देखिन थालेको उनको भनाइ छ ।

राष्ट्र बैंकले शतप्रतिशत मार्जिन र प्रतिबन्ध लगाइएको वस्तुको आयातमा उल्लेख्य कमी आएको छ । तथ्याङ्कअनुसार शतप्रतिशत मार्जिनको व्यवस्था गरेको ल्वाङ साउन महिनामा १ करोड ६ लाख ४२ हजार रुपैयाँको १३ हजार केजी आयात भएको छ ।

चिनी तथा सख्खर १५ करोड ३८ लाख ७ हजार रुपैयाँको १३ लाख ५५ हजार ८२२ केजी आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९७ करोड ५७ लाख ३९ हजार रुपैयाँको १ करोड ८२ लाख ७९ केजी ७६८ केजी चिनी तथा सख्खर आयात गरेको थियो ।

सरकारले विभिन्न एचएस कोडमा आयातमा हुँदै आएको मदिराजन्य वस्तुको आयातमा गत वैशाखदेखि प्रतिबन्ध लगाएको छ । तर, सरकारले मदिरामा प्रतिबन्ध लगाएसँगै मदिरा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उच्च आयात आयात भएको छ । साथै, सरकारले तोकेको एचएस कोडबाहेक अन्य मदिरा भने पर्याप्त मात्रामा आयात भएको छ ।

यस्तै, सुर्तीजन्य वस्तुको पनि कच्चा पदार्थ आयात बढेको छ । सरकारले उच्च आयात भएकोभन्दै प्रतिबन्ध लगाएको सुर्तिजन्य वस्तुको वैशाख अगाडि एलसी खोलेको र कच्चा पदार्थ बढी आयात भएको विभागले जनाएको छ ।

तथ्याङ्अनुसार साउन महिनामा सुर्तीजन्य वस्तु तथा कच्चा पदार्थमात्रै ३३ करोड ६२ लाख ९४ हजार रुपैयाँको आयात भएको । गत वर्षको सोही अवधिमा १२ करोमड ५३ लाख २६ हजार रुपैयाँको आयात भएको थियो ।

त्यस्तै, साउनमा परफ्यूम तथा ट्वाइलेट वाटर ३ करोड ३८ लाख ४९ हजार रुपैयाँ, १५ करोड ३७ लाख ५५ हजार रुपैयाँको कस्मेटिक्स वस्तु, २५ करोड ८० लाख ७६ रुपैयाँको कपालमा प्रयोग हुने वस्तु र ८३ करोड ६७ लाख ३६ हजार रुपैयाँको काठलगायत काठजन्य वस्तु आयात गरेको छ । त्यस्तै, अन्य कडाइ गरेका वस्तुको आयात पनि उच्च भइरहेको विभागको तथ्याङ्क छ ।

कुन वस्तु कति आयात ?


क्लिकमान्डु