दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड, गतवर्षभन्दा सामान्य गिरावट




काठमाडौं । निजी क्षेत्रको अग्रहणी टेलिकम कम्पनी एनसेलको यस वर्षको दोस्रो त्रैमासको आम्दानीमा सामान्य गिरावत आएको छ ।

एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको २०२२ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार उसको आम्दानी ०.९१ प्रतिशतले घटेको हो ।

विवरणअनुसार दोस्रो त्रैमासमा एनसेलको कुल आम्दानी १० अर्ब ४६ करोड ६० लाख रुपैयाँ भएको । जब कि गत आर्थिक वर्षको सोही अवधिमा उसको आम्दानी १० अर्ब ५६ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

भ्वाइस सेवाबाट हुने आम्दानीमा गिरावट आउँदा कुल आम्दानी घटेको उसको वित्तीय विवरणमा उल्लेख छ । भ्वाइस सेवाबाट हुने आम्दानी ११.३ प्रतिशतले घटेको तर डेटाबाट हुने आम्दानी बढेको उसको भनाइ छ । आन्तरिक इन्टरकनेक्टेड रेटमा कमी आउँदा भ्वाइस सेवामा प्रभाव परेको जनाएको छ ।

यसअवधिमा डेटाबाट हुने आम्दानीको हिस्सा भने बढाएको छ । गत वर्षको दोस्रो त्रैमासमा एनसेलको कुल आम्दानीको २५ प्रतिशत डेटाबाट गरिरहेको थियो भने यस वर्षको उक्त समयमा यस्तो आम्दानीको हिस्सा ३० प्रतिशत पुर्याएको छ ।

विवरणअनुसार एनसेलका कुल ग्राहक १ करोड ६८ लाख १७ हजार रहेका छन् । यसमा प्रिपेड ग्राहक १ करोड ६२ लाख ८८ हजार र पोष्टपेड ग्राहक ५लाख २९ हजार रहेका छन् ।

एनसेलका कुल ग्राहकमध्ये ५६.२ प्रतिशतले डेटा प्रयोग गरिरहेका छन् । गत वर्षको सोही अवधिमा ४७.६ प्रतिशतले मात्र डेटा प्रयोग गरिरहेका थिए । त्यस्तै एनसेलका कुल ग्राहकमध्ये ६८ प्रतिशत अर्थात १ करोड १४ लाख ३५ हजार ५ सय ६० जनाले स्मार्टफोन प्रयोग गरिरहेको विवरणमा उल्लेख छ ।


क्लिकमान्डु