एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन, सनराइजलाई पनि ताकेता



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको छ । दुबै बैंकका अध्यक्षसँग छुट्टा छुट्टै छलफल गर्दै राष्ट्र बैंकका उच्च अधिकारीहरुले ०७९ पुससम्ममा जोडी खोजेर मर्जरमा जान निर्देशन दिएका हुन् ।

‘हामी बैंकको संख्या १८ वटामा झार्न चाहन्छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अहिले मर्जरमा जान सम्झौता गरिसकेका बैंकहरुले एकीकृत कारोबार गरेपछि २२ वटामा झर्ने निश्चित छ, अब ४ वटा बैंक मर्जरमा गइदिए हुन्थ्यो भन्ने हाम्रो आशय हो, त्यसैले एनसीसी र कुमारीलाई फस्ट टार्गेट गरेका हौं ।’

दुबै बैंकका अध्यक्षले राष्ट्र बैंकको निर्देशन बमोजिम ०७९ पुस मसान्तसम्ममा उपयुक्त जोडी खोजेर मर्जरमा जाने प्रतिवद्धता व्यक्त गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

‘तोकिएको समयभित्र उहाँहरु मर्जरमा जानुहुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

त्यसैगरी, सनराइज बैंकलाई पनि राष्ट्र बैंकले मर्जरमा जान ताकेता गरेको छ । सनराईज बैंकमा यसअघि भएको सञ्चालक समिति र सीइओको विवाद मलिाउने क्रममै राष्ट्र बैंकले मर्जरमा जान सुझाव दिएको थियो । मर्जरमा गएपछि लगानीकर्ताहरुको संरचना परिवर्तन हुने र सञ्चालक समितिमा बेलाबेलामा हुने विवाद अन्त्य हुने निष्कर्ष निकाल्दै राष्ट्र बैंकले मर्जरमा जान सुझाएको थियो ।

‘हामीले सनराइजलाई पनि मर्जरको विषयमा के भइरहेको छ भनेर ताकेता गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘उहाँहरुले उपयुक्त जोडी खोजिरहेका छौं भन्ने जवाफ दिनुभएको छ ।’

स्रोतका अनुसार अन्य केही वाणिज्य बैंकलाई पनि मर्जरमा जान आग्रह गरेको छ ।

बैंकहरुको संख्या घटाएर राष्ट्र बैंक वित्तीय क्षेत्रको सुदृढीकरणमा केन्द्रित हुने रणनीति अबलम्बन गरेको छ ।


क्लिकमान्डु