दशैं तिहारका लागि साढे ६ करोडको खसीबोका र च्याङ्ग्रा ल्याइने



काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्षझैं यो वर्ष पनि दशैं तिहारका लागि ३ हजार खसीबोका र च्याङ्ग्रा ल्याउने भएको छ । कम्पनीले यो वर्ष काठमाडौंबासीका लागि २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको हो ।

कम्पनीका निर्देशक श्रीमणी खनालले यो वर्ष खसीबोका र च्याङ्ग्रा ल्याउन ६ करोड ४० लाख रुपैयाँ छुट्टाएको बताए । खाद्यले गत वर्ष पनि ३ हजार खसीबोकार र च्याङ्ग्रा ल्याउने भनिएको थियो । तर, मुस्ताङमा नै च्याङ्ग्राको मूल्य उच्च र अभाव देखिएपछि कम्पनीले च्याङ्ग्रा ल्याउन सकेको थिएन ।

त्यस्तै, यो वर्ष पनि कम्पनीले सोही संख्यामा ल्याउने तयारी गरेको छ । निर्देशक खनालले भने, ‘नेपालले च्याङ्ग्रा तिब्बतबाट ल्याउने हो । गत वर्षपनि तिब्बतबाट च्याङ्ग्रा ल्याउने भनिएपनि ल्याउन सकेन । यो वर्ष पनि तिब्बतको नाका सहज हुन सकेको छैन । तर, कम्पनीले ल्याउने प्रयास भने जारी राखेको छ ।’

कम्पनीले हरेक वर्ष दशैं र तिहारलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । त्यसैगरी, यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनका लागि तीब्र तयारी भइरहेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् ।

हालसम्म सञ्चालक समितिबाट कहिलेबाट सुपथ मूल्य बजार सञ्चालन गर्ने भन्नेबारे छलफल भइरहेको उनले जानकारी दिइन् । उनकाअनुसार कहिलेबाट सुपथ मूल्य बजार सञ्चालन आउने भन्ने विषयमा यकिन नभए पनि आन्तरिक तयारी भने भइरहेको उनको भनाइ छ ।

‘सुपथ मूल्य बजार सञ्चालनका लागि सञ्चालक समितिको स्वीकृति चाहिन्छ । यसका लागि आज बैठक बस्दैछ । सम्भवतः भोलिसम्ममा मिति तय हुनेछ,’ उनले भनिन् । साथै, कुन वस्तुमा कति छुट दिने भन्नेमा पनि सञ्चालक समितिले निर्णय गरेर मात्रै सुपथ मूल्य पसल सञ्चालन हुने उनले बताइन् ।


क्लिकमान्डु