पैसा फिर्ता गर्न नसकेर बन्द भएको देउराली सहकारीको आश्वासन: बचतकर्तालाई घडेरी



काठमाडौं । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेर असारमा बन्द भएको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर फिर्ता गर्ने सहकारीले जनाएको छ ।

बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने प्रलोभन दिएर पैसा संकलन गरेको सहकारीले गत असार १ गते सूचना टाँसेर कारोबार बन्द गरेको थियो । त्यसअघि बचतकर्तालाई २५ हजार रुपैयाँमात्र बचत फिर्ता गरेको सहकारीले एकाएक सूचना टाँसेर कारोबार बन्द गरेको थियो ।

सहकारीले कारोबार बन्द गरेपछि बचतकर्ताले असार २ गते महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी दिएका थिए । यो सहकारीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा राखेको छ ।

बचतकर्ताको ६५ करोड रकम फिर्ता गर्न नसकेर बन्द भएको सूचना जारी गरेसँगै सम्पर्कबिहीन भएका सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंले सोमबार बचतकर्ताको रकम दुई भागमा विभाजन गरेर दिने प्रतिबद्धता जनाएका छन् ।

५ लाख रुपैयाँभन्दा कम बचत हुनेलाई नगद र त्यो भन्दा बढी हुनेलाई जग्गा दिने अध्यक्ष चौलागाईंको भनाइ छ । ५ लाखसम्मका बचतकर्ताको रकम संस्थाका ३ वटै काउनटरबाट भुक्तानी गर्दै जाने र त्यसमाथिका बचतकर्तालाई रकमको अनुपात मिलाई असोज ७ गतेदेखि जग्गाको नामसारी सुरु गरिसक्ने उनको दाबी छ ।

‘ठूला बचतकर्ताहरुको बचत रकम अबको दुई वर्षभित्रमा सावाँ तथा व्याज पूर्णरुपमा फिर्ता भुक्तानी गरिने छ तर, सो समयसम्म तपाईं ठूला बचतकर्ताहरुको बचतको सुरक्षणका लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकमको सुरक्षण गर्ने योजना बनाएका छौं । सावाँ व्याज भुक्तानपश्चात उक्त घडेरी तपाईंहरुले संस्था वा संस्थालाई इच्छाएको व्यक्तिको नाममा फिर्ता राजीनामा पास गरि दिनुपर्ने छ’ अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘५ लाख बढीका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरि बचत रकम सुरक्षण गर्ने छु’ अध्यक्ष चौलागाईंले भनेका छन् ।

चौलागाईंले बचतकर्ताहरुको रकम जग्गामा लगानी गरिएको जनाएका छन् । चितवनको भरतपुर नगरपालिका–६ मेघौलीमा ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरेको र उक्त जग्गा ठूला बचतकर्तालाई दिने उनको भनाइ छ ।

अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउद्देश्यीय सहकारी संस्था डुब्ने नै गरी कुनै समस्या नभएको दाबी गरेका छन् ।

बचतकर्ताहरुको रकम दुरुपयोग भएको नभइ लगानी गरिएका ठाउँहरुबाट उठ्न नसकेका कारण समस्या देखिएको उनको दाबी छ ।

बहुउद्देश्यीय सहकारी भएको हिसावले संस्थाले विभिन्न ठाउँमा गरेको लगानीको प्रतिफल प्राप्त भइनसकेको अवस्थामा केही समस्याहरु देखिए पनि संस्था सुदृढ अवस्थामा रहेको दाबी उनको छ । करिब २० हजार सदस्यहरु रहेको सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्यूरोड समेतमा गरि ३ वटा काउन्टर छन् । देउरालीले सहकारीको मूल्य मान्यता विपरित सदस्यको बचत जग्गामा लगानी गरेको छ भने सहायक कम्पनी खडा गरेर विभिन्न क्षेत्रमा लगानी गरेको छ । सहकारीले ललितपुरको लामाटरमा पनि जग्गा खरिद गरेको छ ।


क्लिकमान्डु