मदिरा बेच्ने ५ कम्पनीले गरे एकै वर्ष साढे २४ अर्बको व्यापार, कसको कति ?



काठमाडौं । नेपालमा विभिन्न ब्रान्डका मदिरा बेच्ने ५ कम्पनीले एकै वर्ष साढे २४ अर्बको व्यापार गरेका छन् । कम्पनीहरूले सन् २०२१ मा २४ अर्ब ४८ करोड ७ लाख रुपैयाँको व्यापार गरेका हुन् ।

कम्पनीहरूले आयातित मदिरासँगै स्वदेशमा पनि उत्पादन गरी बजार अनुकुल बिक्री वितरण गर्दै आएका छन् । देशभरका मदिरा कम्पनीमध्ये सन् २०२१ जाउलाखेल ग्रुप अफ कम्पनीद्वारा सञ्चालित जेजीआई डिस्ट्रिब्यूसन प्रालि, यति डिस्टिलरी प्रालि, ग्लोबर ट्रेडिङ कन्सर्न प्रालि, यति ब्रुअरी प्रालि र राज ब्रुअरीले उच्च व्यापार गरेका छन् ।

कम्पनीहरूले साढे ६७ करोडदेखि साढे १४ अर्ब रुपैयाँसम्म व्यापार गरेको संकलित तथ्याङ्कले देखाउँछ ।

कुन कम्पनीको व्यापार कति ?

जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसन प्रालि
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा सञ्चालित जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज डिस्ट्रिब्यूसन प्रालिले सन् २०२१ मा १४ अर्ब ५० करोड २७ लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०१८ मा १५ अर्ब २६ करोड ५८ लाख रुपैयाँ, सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ११ अर्ब ३८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ६ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरिसकेको छ । कम्पनीले नेपाली बजारमा रुस्लान भोड्का, ४० अप ब्राउन स्पिरिट सेगमेन्ट (गोल्डेन वक, ब्ल्याक वक, रोयल ट्रेजर, हिमालय ब्रान्डी र अन्य), ह्वाइट स्पिरिटमा (भोड्का, जीन र आइला) र बियर बिक्री वितरण गर्दै आएको छ ।

विभिन्न ब्रान्डमा मदिरा बिक्री गर्दै आए पनि गोल्डेन ओक, ब्लू डाइमन्ड जिन र रुस्लान भोड्कोको ठूलो बजार रहेको कम्पनीले जनाएको छ । जसमा सन् २०२१ मा सो तीन ब्रान्डका मदिराबाट मात्रै व्यापार गरेकोमध्ये ८४ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२० मा ३ वटा ब्रान्डको मदिराको हिस्सा ८० प्रतिशत थियो ।

कम्पनीअनुसार सन् २०२१ मा व्यापार गरेकोमध्ये ६१ प्रतिशत हिस्सा ४० अप ब्राउन स्पिरिट सेगमेन्ट (गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर, हिमालय ब्राण्डी) को रहेको छ । त्यसैगरी, ३० प्रतिशत हिस्सा ह्वाइट स्पिरिट (भोड्का, जीन र आइला) को र ९ प्रतिशत बियरको हिस्सा रहेको कम्पनीले उल्लेख गरेको छ ।

त्यस्तै, सन् २०२१ मा ब्राउन स्पिरिट सेग्मेन्टको ६१ प्रतिशत हिस्सामा ५४ प्रतिशत हिस्सा गोल्डेन ओकको रहेको कम्पनीले जनाएको छ ।

ह्वाइट सेगमेन्टको ३० प्रतिशत हिस्सामा रुस्लान भोड्काको हिस्सा १५ प्रतिशत छ । सन् २०२० मा रुस्लान भोड्काको हिस्सा १९ प्रतिशत थियो । साथै, ब्लू डाइमण्ड जीनको हिस्सा १५ छ ।

कम्पनीको तेस्रो सेगमेन्टमा बियरको व्यापार ६३ प्रतिशतले वृद्धि गरेको जनाएको छ । त्यसमा माउन्टेन आईई स्ट्रङ बियरको व्यापार बढ्दा समग्रमा व्यापार बढेको कम्पनीको भनाइ छ ।

कम्पनीले पछिल्लो समय बडवाइजर बियर पनि बिक्री वितरण गर्न थालेको छ । उक्त बियरको पनि बजारमा ग्राहकको सकरात्मक पक्ष भएकाले व्यापार उकालो लागेको जनाएको छ । कम्पनीको सन् २०२१ मा भएको व्यापारको हिस्सामा बर्डवाइजरको २ प्रतिशत केस रहे पनि सन् २०२२ को ६ महिनामा बर्डवाइजरको हिस्सा १३ प्रतिशत पुगेको छ ।

साथै, कम्पनीले ‘हात्ती ८’ बियर ‘ब्लू ओक’ नयाँ उत्पादन थप गरेको छ । जसमा कुल व्यापारमा ४ प्रतिशत ‘हात्ती ८’ को र ०.११ प्रतिशत ‘ब्लू ओक’को रहेको कम्पनीले जनाएको छ ।

देशभर २ सय ३७ वटा डिलर रहेको कम्पनीको ४ वटा गोदाम छ । जावलाखेल ग्रुप अफ कम्पनीको जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिज डिस्ट्रिब्यूटर नेपालको ठूलो मदिरा डिस्ट्रिब्यूटर कम्पनीको हो । कम्पनीले चार वटा डिस्टिलरी (विजय, एशियन, हिमालय, रोलिङ रिभर) अ ब्रअरी, राज ब्रअरी सबै प्रकारका मदिरा जाउलाखेल ग्रुप अफ इन्डिस्ट्रिज अन्तर्गत रहेको छ । कम्पनीले विभिन्न देशबाट वाइन र बियर आयात गरेर बिक्री वितरण गर्दै आएको छ ।

राज ब्रुअरी प्रालि
जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजद्वारा नै सञ्चालित राज ब्रुअरी प्रालिले सन् २०२१ मा ६७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा २८ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा ४६ करोड रुपैयाँ र सन २०१८ मा २६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ८ महिनाको अवधिमा ५५ करोड २० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले विदेशी दुईवटा ब्रान्डका बियरसहित ४ वटा ब्रान्डका बियर बिक्री वितरण गर्दै आएको छ । कम्पनीअनुसार विदेशी ब्रान्डका बडवाइजर र वार्स्टेनर र स्वदेशी ब्रान्डमा नमस्ते, माउन्टेन आइस र हात्ती ८ बिक्री वितरण गर्दै आएको छ ।

राजबहादुर शाहको पूर्णस्वामित्व रहेको कम्पनीले स्वदेशी उत्पादनका लागि यूरोप, भारत र नेपालकै कच्चा पदार्थ प्रयोग गरी मदिरा उत्पादन गर्ने गरेको छ । जावलाखेल ग्रुपअन्तर्गत सहायक कम्पनीको रुपमा रहेको कम्पनीको देशभर एक सयभन्दा बढी वितरक छ ।

यति डिस्टिलरी प्रालि
बजारमा ओल्ड दरबार र ८८४८ भोड्का उत्पादन गर्ने कम्पनी यति डिस्टिलरी प्रालिले सन् २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० कम्पनीले ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँ र सन् २०१८ मा ३ अर्ब २६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, सन् २०२२ को ६ महिनाको अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गरिसकेको छ ।

ह्वीस्की र भोड्का सेगमेन्टमा सबैभन्दा ठूला खेलाडीको रुपमा परिचित यति डिस्टिलरीले सन् २०२१ मा ३२.३ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले वल्ड दरबार ह्वीस्की र ८८४८ भोड्काले पछिल्लो ३ वर्षदेखि लगातार राम्रो आम्दानी गरेको कम्पनीको भनाइ छ ।

सन् २०१५ मा स्थापना भएको यति डिस्टिलरीले लो–इन्ड भएको ७० अप मदिराको व्यापार गर्दै आएको छ । २५ अप ओल्ड दरबार ह्वीस्की सन् २०१५ बाट र सन् २०१६ बाट ३० अप ८८४८ भोड्का उत्पादन गर्न शुरु भइका थिए । कम्पनीले सन् २०१९ देखि २०२१ सम्ममा सो २ प्रकारका उत्पादनले मात्रै ९० प्रतिशत व्यापार गरेको छ । साथै, बाँकी आम्दानी ७० अप उत्पादन (कस्तुरी ब्रान्ड)का मदिराबाट हुने गरेको छ । जसमा ओल्ड दरबार र ८८४८ सेगमेन्टको ह्वीकी र भोड्काको ४० देखि ५० प्रतिशत आन्तरिक बजारमा बिक्री वितरण हुने गरेको छ ।

कम्पनीको ५० प्रतिशत शेयर अभिषेक श्रेष्ठको रहेको छ भने ५० प्रतिशत शेयर परिवारिक सदस्य रवि श्रेष्ठको छ । कम्पनीले विभिन्न ६–७ वटा ब्रान्डका मदिरा जस्तै, भोड्का, ह्वीस्की, जिन रलो इन्ड ७० अप मदिरा उत्पादन गर्दै आएको छ ।

कम्पनीले सन् २०२१ मा मात्रै ओल्ड दरबार र ह्वीस्कीबाट मात्रै ९४ प्रतिशत आम्दानी गरेको छ । कम्पनीको दैनिक ९ हजार केस मदिरा उत्पादन गर्ने क्षमता रहेको छ । हाल कम्पनीको १२० वटा वितरक छन् ।

ग्लोबल ट्रेडिङ प्रालि
जोनी वाल्कर ब्रान्डमा विभिन्न प्रकारका ह्वीस्की बेच्दै आएको ग्लोबल ट्रेडिङले सन् २०२१ मा १ अर्ब ९७ करोड ३० लाखको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब ७६ करोड ९० लाख रुपैयाँको र सन् २०१९ मा २ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । प्रालिले जोनी वाल्कर ब्रान्ड अन्तर्गत रेडलेबल, ब्ल्याकलेबल, डबल ब्ल्याक लेबल, ग्रीन लेबल, ब्लु लेबल, ब्लु लेभल किङ जोर्ज भी, गोल्ड लेबल रिजर्भ, कलेक्सन प्याक, स्वीङजस्ता ह्वीस्की बिक्री गर्दै आएको छ । साथै, सिंगलटन, बेलीलगायत अन्य विभिन्न प्रकारका मदिरा आयात गरी बिक्री गर्दै आएको छ । जसमा कम्पनीले मुख्यतया ह्वीस्की, भोड्का, रम, जीन, ब्रान्डी र टक्कील्लाजस्ता मदिराको व्यापार गर्दै आएको जनाएको छ ।

कम्पनीले विभिन्न प्रकारका मदिरा बजारमा बिक्री गर्दै आए पनि सबैभन्दा बढी प्रिमियम ह्वीस्की जोनी वाल्कर र स्मिरनोफ ब्रान्डका भोड्काबाट उच्च आम्दानी गरेको छ । जोनी वाल्करको मूल्य उच्च रहेकाले उच्च मध्यम वर्ग र उच्च वर्गको ग्राहकले बढी उपभोग गर्ने गरेको कम्पनीले जनाएको छ ।

साथै, बजारमा मदिराको उच्च प्रतिस्पर्धा भएकाले कम्पनीले कम मूल्यका ह्वीस्की र बियर पनि उत्पादन गर्दै आएको छ ।

विशाल ग्रुपद्वारा सञ्चालित यस कम्पनीको कोभिडका कारण आम्दानी घटेको थियो । तर, कोरोना असर कम हुँदै गएपछि व्यापारले पनि गति लिएको कम्पनीको भनाइ छ ।

कम्पनीअनुसार सन् २०२१ मा ८.३९ प्रतिशतले नाफा कमाएको छ । त्यसैगरी, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ४३ करोड १० लाख रुपैयाँको व्यापार गरिसकेको उल्लेख छ ।

यति ब्रुअरी प्रालि
नेपाली बजारमा मदिरा उत्पादन गरी बिक्री वितरण गर्दै आएको यति ब्रुअरी प्रालिले सन् २०२१ मा २ अर्ब ९९ करोड १० लाख रुपैयाँ (अपरिस्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब १४ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ५२ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विशाल ग्रुप र एभरेष्ट ग्रुपको संयुक्त लगानी भएको कम्पनीले विभिन्न ४ वटा ब्रान्डका बियर उत्पादन गर्दै आएको छ । कम्पनीले अर्ना, शिखर, वाइबी र किङफिसर ब्रान्डको बियर उत्पादन गर्दै आएको छ । साथै, कम्पनीले २० एसकेयुसहित विभिन्न ९ प्रकारका वस्तु सो ब्रान्डमा उत्पादन गर्दै आएको छ ।

भारतीय कम्पनी युनाइटेड ब्रुअरीसँगको साझेदारीमा नेपालमा किङफिसर ब्रान्डका बियर उत्पादन गरी मदिरा क्षेत्रमा प्रवेश गरेको कम्पनीको सन् २०२१ मा सन् २०२० को तुलनामा १६२ प्रतिशतले व्यापार बढेको जनाएको छ । सन् २०२१ मा अर्ना–८ ३३० मिलिलिटर बोटलको उत्पादन शुरु गरेसँगै व्यापारमा उछाल आएको कम्पनीले जनाएको छ ।

कम्पनीले बियर उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्दै आएको छ । कम्पनीले गोर्खा नेपाल आइस, एभरेष्ट, कार्लस्बर्ग, टुबोर्ग कोरोनालगायत अन्य विभिन्न ब्रान्डका बियरसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

१५ अर्बको रेटिङ

सन् २०२१ मा साढे २४ अर्बको व्यापार गरेको कम्पनीले १५ अर्ब बढीको ऋणका लागि रेटिङ गराएको छ । विभिन्न केयर रेटिङ एजेन्सीअनुसार ५ वटा कम्पनीले १५ अर्ब ३७ करोड २९ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाको लागि रेटिङ गराएको छ ।

संकलित तथ्याङ्कअनुसार जेजीआई डिस्ट्रिब्यूसन कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ, यति डिस्टिलरीले ३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, ग्लोबल ट्रेडिङ कनर्सनले १ अर्ब ४८ करोड १५ लाख रुपैयाँ, यति ब्रुअुरीले २ अर्ब ६६ करोड रुपैयाँ र राज ब्रुअरीले १ अर्ब ६० करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान