अर्थमन्त्रीले गरे टीम परिवर्तन: ९ सहसचिवको जिम्मेवारी हेरफेर, ठूला करदातामा ज्ञवाली



काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गत काम गरिरहेका ९ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले दोस्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको तीन सातापछि सह–सचिवहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

सोमबार अर्थमन्त्री शर्माले मन्त्रीस्तरिय निर्णय गर्दै आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सहसचिवले नेतृत्व गर्ने चार कार्यालयका प्रमुख परिवर्तन गरेका छन् । 

आन्तरिक राजस्व विभागले संकलन गर्ने कुल राजस्वको करिब आधा रकम संकलन गर्ने ठूला करदाता कार्यालय प्रमुख रहेका शिवलाल तिवारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा सरुवा गरिएको छ । 

मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख रहेका राजेश्वर ज्ञवालीलाई ठूला करदाता कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । 

यस्तै, आन्तरिक राजस्व संकलन गर्ने अर्को महत्त्वपूर्ण निकाय मध्यमस्तरीय करदाता कार्यालय प्रमुख पनि परिवर्तन गरिएको छ । 

कार्यालय प्रमुख रहेका शम्भुप्रसाद मरासिनीलाई महालेखा नियन्त्रण कार्यालयमा सरुवा गरिएको छ । 

अर्थ मन्त्रालयको योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका ढुण्डीप्रसाद निरौलालाई मध्यमस्तरीय करदाता कार्यालय प्रमुखको जिम्मेवारी दिइएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । 

विगतमा राजस्व प्रशासनमा काम गरेको अनुभव नभएका ज्ञवाली र निरौलालाई महत्त्वपूर्ण कार्यालय प्रमुख बनाइएको हो ।  ज्ञवाली र निरौला शाखा अधिकृत र उपसचिव हुँदा राजस्व समूहमा थिएनन् । सहसचिवमा राजस्व समूह नहुने कानूनी व्यवस्थाको लाभ उठाउँदै अर्थमन्त्री शर्माले विगतमा राजस्व प्रशासनमा काम नै नगरेका ज्ञवाली र निरौलालाई महत्त्वपूर्ण कार्यालयको जिम्मेवारी दिएका हुन् । 

त्यसो त अहिले भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्यसँग समेत विगतमा ती निकायमा काम गरेको अनुभव छैन् । यस्तै हालका अर्थसचिव कृष्णहरी पुष्कर कर्णले समेत राजस्व सचिव बाहेक अर्थ मन्त्रालयमा काम गरेका थिएनन् । 

सोमबार नै अर्थमन्त्री शर्माले महालेखा नियन्त्रण कार्यालयमा रहेमा नवराज ढुंगानालाई बीरगञ्ज भन्सार कार्यालय प्रमुखको जिम्मेवारी दिएका छन् । बीरगञ्ज भन्सार कार्यालय प्रमुख रहेका अरुण पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा सरुवा गरिएको छ । 

स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालय प्रमुख रहेका महेश भट्टराईलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । 

अर्थ मन्त्रालयको महाशाखा प्रमुख रहेका दुई सहसचिव ज्ञवाली र निरौलालाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि अर्थ मन्त्रालयमा दुई जना सहसचिव भित्रिएका छन्  ।

स्रोतका अनुसार भन्सार विभागको उपमहानिर्देशक रहेका आनन्द काफ्लेले पहिलो पटक अर्थ मन्त्रालय भित्रको जिम्मेवारी पाएका छन् । आन्तरिक राजस्व विभागको समेत उपमहानिर्देशक भईसकेका काफ्लेलाई योजना अनुगमन तथा मुल्यांकन महाशाखाको जिम्मेवारी दिइएको छ । 

यस्तै, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख रहेका सुमन दाहाललाई वित्तीय संघियता समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । दाहालले तीन साता अगाडी मात्रै केन्द्रको जिम्मेवारी पाएका थिए ।

विगतमा अर्थमन्त्रालय भित्रको महत्त्वपूर्ण मानिने बजेट महाशाखा समेतको जिम्मेवारी सम्हालिसकेकाले दाहालले वित्तीय संघियता समन्वय महाशाखाको जिम्मेवारी लिने सम्भावना कम रहेको स्रोतको दाबी छ । 

वित्तीय संघियता समन्वय महाशाखाका प्रमुख रहेका बाबुराम सुवेदीलाई आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी दिइएको छ । 


क्लिकमान्डु