माथिल्लो तामाकोशीको शतप्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित, कहाँ हुँदैछ १० अर्ब ५९ करोड खर्च ?



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको वार्षिक साधारणसभाले १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उक्त प्रस्ताव पारित गरेसँगै कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासनको बाटो खुलेको छ ।

हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेपछि चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । अब केही समयपछि कम्पनीले हकप्रद सेयर निष्कासनको प्रकृया अघि बढाउने छ ।

सभाले हकप्रद सेयर पारित गरेसँगै कम्पनीको सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत आयोजना र तामाकोशी–५ जलविद्युत आयोजना निर्माणमा उक्त रकम लगानी गरिने भएको छ । सभामा हकप्रद सेयर बिक्री गरेर आउने रकम दुईवटा आयोजनामा लगानी गर्ने जानकारी गराइएको छ । शुक्रबार सम्पन्न हाइड्रोपावरको चौथो वार्षिक साधारणसभाले हकप्रद निष्कासन र आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

रोल्वालिङ आयोजनाका लागि करिब साढे ६ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । त्यसका लागि करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माण शुरु गरेको करिब साढे ४ वर्षमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य आयोजनाको रहेको छ ।

त्यस्तै तामाकोशी–५ जलविद्युत आयोजना अपर तामाकोशीकै पूर्वाधार प्रयोग गरेर निर्माण गरिने छ । अहिले उक्त आयोजनाको साइट क्याम्प निर्माण लगायतका काम शुरू भएको छ । आयोजनाका लागि १६ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ ।

तामाकोशी-५ का लागि अनुमान गरिएको कुल लागतमध्ये ११ अर्ब ३३ करोड रुपैयाँ कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । ९९.८ मेगावाट क्षमताको आयोजनाको दोलखा जिल्लाको सुरी दोभानमा पावर हाउस निर्माणाधीन छ ।

गत आर्थिक वर्षबाट विद्युत उत्पादन शुरू गरेको तामाकोशी कम्पनी नोक्सानीमा नै रहेको छ । गत असार मसान्तसम्ममा कम्पनीको नोक्सानी बढेर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५ करोड ३४ लाख ३ हजार २५२ रुपैयाँ नोक्सानीमा रहेको थियो ।

यस्तै दीर्घकालीन र अल्पकालीन ऋणको भार पनि बढेको छ । तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण ५ अर्ब ६२ करोड २२ लाख ४ हजार रुपैयाँ रहेको छ ।

३५ अर्बको लागत ८६ अर्ब पुग्यो

४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजनाको निर्माण अवधि लम्बिए जसरी नै यसको लागत पनि बढेको छ । लागत पूर्वानुमान गरेको भन्दा दोब्बर बढी लागिसकेको छ र यसको लागत अझै बढ्ने देखिएको छ । आयोजनाको लागत ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ लाग्ने अनुमान रहेको थियो । तर अघिल्लो आवको वार्षिक प्रतिवेदनमा लागत बढेर ८६ अर्ब पुगेको उल्लेख छ ।

कम्पनीले निष्कासन गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा निर्माण कार्यमा ५४ अर्ब र निर्माण अवधिको ब्याज ३२ अर्बसहित ८६ अर्ब लागत लागेको उल्लेख छ ।

भूकम्प, भारतले गरेको अघोषित लकडाउन, कोरोना, विदेशी विनिमय दर बढ्नु, आयोजनाको सुरुङ निर्माणको डिजाइन परिवर्तनले गर्दा आयोजनाको लागत बढेको कम्पनीको भनाइ छ ।

कसको लगानी कति ?

आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयको १५, सर्वसाधारणको १० र २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोष, प्राधिकरण तथा कम्पनीका कर्मचारी र ऋण दिने वित्तीय संस्थाका कर्मचारीको स्वामित्व रहेको छ ।

सेयर मूल्य
असार पहिलो साता कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने सूचना बाहिर आयो । सूचना बाहिर आएपछि सेयर बजारका खेलाडीले कम्पनीको सेयर उठाए । असार ९ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ रहेको थियो । यो अवधिमा सेयर मूल्य बढेर ५४२ रुपैयाँ प्रतिकित्तासम्म पुग्यो ।

असार ३१ गते कम्पनीको सेयर मूल्य ५४२ रुपैयाँ पुग्यो । जुन दिन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने सूचना निकाल्यो । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चु्क्ता पुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न आगामी साधारणसभामा प्रस्ताव पेस गर्ने सूचना जारी गरेको थियो ।

सूचना जारी गरेको दिनसम्म बढेको बजार त्यसको भोलिपल्टको कारोबार दिनबाट गिरावट आउन थालेको थियो । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु