जगदम्बा ब्रान्डमा स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेजको व्यापार ६.३८ प्रतिशतले घट्यो
काठमाडौं । जगदम्बा ब्रान्डको स्टिलजन्य सामग्री बेच्ने जगदम्बा इन्टरप्राइजेज प्रालिको व्यापार ६.३८ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२० को तुलनामा सन् २०२१ मा ६.३८ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा १४ अर्ब ९८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०१९ मा १९ अर्ब ६६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २००१ देखि निरन्तर स्टिलजन्य सामग्री डण्डी, पाइपलगायत अन्य विभिन्न सामग्री उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक ३ लाख ६२ हजार ४६० मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले विशेषगरी डण्डी उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । जसका कम्पनीले आम्दानी गरेकोमध्ये ५० प्रतिशत हिस्सा डण्डीको छ ।
कम्पनीले सन् २०२१ मा ८४ हजार ५२९ मूल्यमा प्रति मेट्रिक टन स्टिलजन्य सामग्री बिक्री गरेको थियो । सो मूल्यमा बिक्री गर्दा कम्पनीले सन् २०२१ मा १०.७८ प्रतिशतले नाफा कमाएको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न देशबाट स्पञ्ज आइरन आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । अनिल कुमार रुङ्गटा र विशाल पटवारी निर्देशक रहेको कम्पनीले ‘जगदम्बा’ र ‘जागशक्ति’ ब्रान्डमा विभिन्न प्रकारका स्टिलजन्य सामग्री बिक्री वितरण गर्दै आएको छ । देशभरका मुख्य सहरमा सामग्री उपलब्ध रहेको कम्पनीले डण्डी, पाइप, आइरन पाइप, एचआर स्ट्रिप्स, शटर प्रोफाइल, शटर गाइड, शटर स्प्रिङ, लक प्लेट, प्रिफ्याब्रिकेटेड बिल्डिङ कम्पोनैनटलगात अन्य विभिन्न स्टिलका पोल उप्पाद गर्दै आएको छ ।
केयर रेटिङ नेपालअनुसार कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १५ अर्ब ८० करोड ६६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ अर्थात् डबल बी प्लस र अल्पकालीन कर्जाका लागि १३ अर्ब ९२ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।