विशाल ग्रुपको ४० अर्बको कारोबार, ४६ अर्ब ऋण, गाडी र विदेशी एफएमसीजीमा एकाधिकार



काठमाडौं । औद्योगिक घराना विशाल ग्रुपले बैंक तथा वित्तीय संस्थाबाट ४६ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको भेटिएको छ ।

विशाल ग्रुप अन्तर्गतका विभिन्न कम्पनीको रेटिङका आधारमा हेर्दा ४६ अर्बभन्दा बढी ऋण लिएका छन् । ५० करोड रुपैयाँ वा सोभन्दा बढी ऋण लिनका लागि कम्पनीको रेटिङ गराउनुपर्छ । ५० करोड रुपैयाँभन्दा कम ऋण लिनका लागि भने रेटिङ गराउनु नपर्ने हुँदा यो रकम अझ बढी हुन भने सक्छ ।

ग्रुप अन्तर्गतका ११ वटा कम्पनीले कर्जाका लागि रेटिङ गराएका छन् । जसमध्ये १० वटा कम्पनीको कारोबार रेटिङमा उल्लेख छ । ग्रीन भेञ्चर जलविद्युत् आयोजनाले विद्युत् बिक्रीबाट गरेको आम्दानी भने रेटिङमा उल्लेख छैन ।

८० वर्षअघि धरानमा गोरधनदास अग्रवालले कपडाको व्यापार शुरुवात गर्दै विशाल ग्रुपको जग हालेका थिए । अहिले विशाल ग्रुपको व्यापार चौथो पुस्तामा पुस्तान्तरण हुने क्रममा छ ।

ग्रुपले व्यापार हुँदै उद्योग, वित्तीय क्षेत्रसम्म लगानी बिस्तार गरेको छ । वित्तीय क्षेत्रमा विशाल ग्रुपको निकै बलियो उपस्थिति छ ।

विशाल ग्रुपको लगानी एनआईसी एशिया बैंक तथा एनएमबि बैंकमा समेत लगानी छ । यस्तै जीवन बीमा अन्तर्गत एलआईसी नेपाल, सूर्या नेपाल तथा ज्योति लाइफ कम्पनीमा पनि लगानी छ । सूर्या र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्जर जाने तयारीमा छन् ।

निर्जीवन बीमा कम्पनीमा प्रुडेन्सियल र नेपाल इन्स्योरेन्समा पनि ग्रुपको लगानी छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुनर्बीमा कम्पनी, रेटिङ कम्पनी केयर नेपालमा पनि विशाल ग्रुपले लगानी गरेको छ ।

उद्योगतर्फ विशाल ग्रुपले स्टीलदेखि वियर उद्योगसम्म लगानी गरेको छ । कमला रोलिङ मिल्स र मैनावत्ती स्टीलमा ग्रुपको लगानी छ । कमला रोलिङ मिलले २ अर्ब ५२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । यसले गत वर्ष २ अर्ब ७८ करोड रुपैयाँको कारोबार गरेको छ ।

मैनावत्ती स्टीलले ६ अर्ब २२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले गत वर्ष ४ अर्ब ७१ करोड रुपैयाँको छ ।

विशाल ग्रुपले यती ब्रुअरी कम्पनीमार्फत् बियर उत्पादन गरिरहेको छ । कम्पनीले भारतको लोकप्रिय बियर किङफिसरको उत्पादन नेपालबाटै गर्छ । त्यसबाहेक नेपाली ब्राण्डहरु अर्ना, वाइबी तथा शिखर गोल्डको समेत उत्पादन गर्छ । बियरको स्ट्रोङ सेगमेन्टमा अर्नाको बलियो उपस्थिति छ ।

यती ब्रुअरीले २ अर्ब ६६ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको गत वर्षको व्यापार ३ अर्ब हाराहारीमा रहेको छ ।

विदेशी ब्राण्डका एफएमसीजीदेखि लिएर मदिराको व्यापारमा विशाल ग्रुपको निकै बलियो उपस्थिती छ । ग्रुप अन्तर्गतको कम्पनी युनाइटेड डिस्ट्रिब्युटसन एफएमसीजीको ठूलो बिक्रेता कम्पनी हो । जसले रेडबुल, बिट्रानिया, जीएसके, हर्लेक्स लगायतका कम्पनी बिक्री गर्दै आएको छ ।

कम्पनीले ७ अर्ब १२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको गत वर्ष १२ अर्ब २३ करोड रुपैयाँ बराबरको व्यापार थियो । विशाल ग्रुप अन्तर्गतका कम्पनीमा सबैभन्दा बढी व्यापार गर्ने कम्पनीमा युनाइटेड डिस्ट्रिब्युसन पनि पर्छ ।

यस्तै जोनी वाकर ब्राण्ड अन्तर्गत विदेशी मदिराको बिक्रेता ग्लोबल ट्रेडिङले १ अर्ब ४८ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीको गत वषएको व्यापार १ अर्ब ९७ करोड रुपैयाँ छ ।

लाइफ केयर डिस्ट्रिब्युसन कम्पनी विशाल ग्रुप अन्तर्गतको अर्को कम्पनी हो । जसले १ अर्ब ६५ करोड रुपैयाँको ऋणको लागि रेटिङ गराएको छ । कम्पनीले गत वर्ष ४ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

५ वटा गाडीको आधिकारिक बिक्रेता
विशाल ग्रुप नेपालमा बिक्री हुने ५ ब्राण्डका गाडीको आधिकारिक बिक्रेता हो । ग्रुपले गाडी व्यापारमा साझेदारीमा काम गरिरहेको छ ।

ग्रुपले फक्सवागन, एमजी, रेनोल्ट, ग्रेटवाल र माज्दा गाडी बिक्री वितरण गर्दै आएको छ । दुईपांग्रे सवारी साधन अन्तर्गत ग्रुपले सुजुकी बिक्री वितरण गर्दै आएको छ ।

गाडी बिक्रेता कम्पनीहरुमध्ये रेनोल्ट, एमजी बिक्रेता कम्पनीले पनि रेटिङ गरेका छन् । एमजीको बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालि हो । जसले १ अर्ब ५५ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसको व्यापार ३ अर्बभन्दा बढी छ ।

रेनोल्ट गाडीको बिक्रेता एडभान्स अटोमोबाइल्स हो । जसले ९६ करोड रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीको व्यापार १ अर्ब रुपैयाँ हाराहारीमा छ । एमजी र रेनोको व्यापारमा विशाल ग्रुपले मुरारका समूहसँग साझेदारी गरेको छ ।

सुजुकी मोटरसाइकलको बिक्रेता भिजी अटोमोबाइल्स हो । यसको १ अर्ब ६८ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । भिजी अटोमोबाइल्सको व्यापार १ अर्ब २५ करोड रुपैयाँ छ ।

bविशाल ग्रुपले जलविद्युत् तथा सिमेन्टमा भने त्रिवेणी ग्रुपसँग साझेदारी गरेको छ । ५२.४ मेगावाट क्षमताको लिखु जलविद्युत् आयोजनामा त्रिवेणी ग्रुपसँग साझेदारी गरेको छ । ग्रीन भेञ्चर कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँ बैंकबाट ऋण लिएको छ ।

ग्रुपले त्रिवेणी ग्रुपसँग घोराही सिमेन्ट उद्योगमा समेत साझेदारी गरेको छ । जसले १२ अर्ब ८७ करोड रुपैयाँ ऋण लिएको छ । जसको पछिल्लो आर्थिक वर्षको व्यापार ६ अर्ब रुपैयाँ बराबरको थियो । ग्रीन भेञ्चर र घोराही सिमेन्टमा विशाल ग्रुपको भन्दा त्रिवेणी ग्रुपको लगानी बढी छ ।


आशीष ज्ञवाली