अपर तामाकोशीको नोक्सान झनै बढ्दै, प्रतिसेयर आम्दानी नोक्सानमा



काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको नोक्सान झनै बढ्दै गएको छ । गत असार मसान्तसम्ममा कम्पनीको नोक्सान बढेर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा ५ करोड ३४ लाख ३ हजार २५२ रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको नोक्सान १ अर्ब ८२ करोड ४ लाख ९६ हजार ८ सय रुपैयाँले बढेको छ । यो अवधिमा कम्पनीले बिजुली बिक्री गरेर ७ अर्ब १७ करोड ३५ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीको नोक्सानी बढेको मात्रै होइन, दीर्घकालिन र अल्पकालीन ऋणको भार पनि बढेको छ । तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने अल्पकालीन ऋण ५ अर्ब ६२ करोड २२ लाख ४ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको असार मसान्तमा दीर्घकालिन ऋण ४० अर्ब ५८ करोड ३० लाख ९८ हजार रहेको थियो भने अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ २ अर्ब ७१ करोड ७९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ ।


क्लिकमान्डु