सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा शिवम् सिमेन्टको नाफा ५१.२% ले घट्यो



काठमाडौं । गत आर्थिक वर्षमा शिवम् सिमेन्टको नाफा ५१.२ प्रतिशतले घटेको छ ।

गत आवमा कम्पनीको नाफा ५१.२ प्रतिशतले घटेर ६८ करोड ९३ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब ४१ करोड २६ लाख ६६ रुपैयाँ थियो ।

गत आवमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी घट्दा त्यसको असर नाफामा परेको छ । अघिल्लो आवमा ९ अर्ब ६१ करोड ५४ लाख ३२ हजार रुपैयाँको सिमेन्ट बिक्री गरेको कम्पनीले गत आवमा ९ अर्ब २६ करोड ३ लाख ८१ हजार रुपैयाँको मात्रै सिमेन्ट बिक्री गरेको छ ।

अन्य खालका आम्दानी भने ४ करोड ५२ लाख ३४ हजार रुपैयाँबाट बढेर १९ करोड ६ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

गत आवमा विद्युत तथा उर्जामा हुने खर्च भने २ अर्ब १० करोड ३१ लाख ८७ हजार रुपैयाँबाट बढेर २ अर्ब ४४ करोड ९५ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

यस्तै कच्चा पदार्थमा हुने खर्च ४ अर्ब ४१ करोड ९२ लाख ५१ हजार रुपैयाँबाट घटेर ३ अर्ब ८० करोड ४० लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा छ ।


क्लिकमान्डु