फाइभजी परीक्षणमा प्राधिकरण र टेलिकमको बेवास्ता, ८ महिना हुँदा पनि आएनन् उपकरण



काठमाडौं । छिमेकी मुलुक भारतमा फाइभजीको प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि नेपालमा भने अहिलेसम्म पनि परीक्षण हुन सकेको छैन ।

आयातकर्ताले फाइभजी परीक्षणका लागि आवश्यक उपकरण नल्याएको भन्दै नेपाल टेलिकमले परीक्षण गर्न नसकेको बताउँदै आएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि फाइभजी परीक्षणमा भइरहेको ढिलाइप्रति नजरअन्दाज गरिरहेको छ ।

नेपालमा फाइभजी परीक्षण गर्ने भनेर फोरजी बिस्तारकै क्रममा सम्झौता भएको थियो । फोरजी विस्तार गरेको चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनी (हुवावे)सँग त्यहीबेला फाइभजी परीक्षण गर्ने सम्झौता भएको थियो । फोरजी विस्तार गर्ने भनेर नेपाल टेलिकमले १८ अर्ब रुपैयाँँ खर्च गर्ने सम्झौता गरेको थियो ।

फाइभजी परीक्षणका लागि भन्दै प्राधिकरणले फ्रिक्वन्सी निर्धारण गरेको लामो समय भइसक्दा पनि यसका लागि आवश्यक उपकरण आयात हुन सकेका छैनन् ।

फाइभजी परीक्षण अगाडि नबढ्नुमा नियामक निकाय प्राधिकरण, नेपाल टेलिकम र सामान आयातकर्ता तीन वटै पक्ष जिम्मेवारी देखिन्छन् ।

फाइभजी परीक्षणका लागि नेटवर्क वान, नेटवर्क टु र र्याम तयार गर्नुपर्ने छ । अन्य पूर्वाधारहरु जस्तै बीटीएसम्म १० जीको अप्टिकल लिंक, टावरमा स्पेस, पावर सिस्टम, एप्लिकेसन, कोर साइडलगायतमा पनि काम गर्नुपर्नेछ ।

नेपाल टेलिकमले प्राधिकरणबाट उपकरण आयातको लाइसेन्स दिन ढिला गर्दा सामान आयात हुन ढिलाइ भएको जनाएको छ ।

‘प्राधिकरणबाट आयातका लागि लाइसेन्स लिन धेरै समय लाग्यो,’ नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भने, ‘अहिले सामान आउनेक्रममा छन् ।’

सामान कहिले आउने भन्ने निश्चित छैन । सामान छिट्टै आउँछ भन्न लागेको पनि ८ महिना भइसकेको छ ।

उपकरण आयातका लागि लाइसेन्स दिन ढिलाइ गरेको प्राधिकरणले नियामक निकायको भूमिका खेल्न सकेको छैन । निश्चित समय दिएर फाइभजी परीक्षण गर्न निर्देशन दिएर भए वा नभएको अनुगमन गर्नुपर्नेमा बेवास्ता भइरहेको छ ।

त्यस्तै, सामान आयात गर्ने जिम्मा पाएका जेडटीई कर्पोरेसन र सीसीएसआईलाई किन ढिलाइ भएको भन्ने विषयमा नेपाल टेलिकम र प्राधिकरणले स्पष्टिकरण समेत सोध्न सकेका छैनन् । जति ढिला गरे पनि उन्मुक्ति दिने शैलीलाई आशंकाको घेराबाट हेर्न थालिएको छ ।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले गएको वर्ष पुस महिनामै पहिलो चरणको फाइभजी परीक्षण गर्ने तालिका बनाए पनि कार्यान्वयन गराउन सकेन ।

प्राधिकरणले फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । कुन–कुन ठाउँमा फाइभजी परीक्षण गर्ने भनेर यकिन नभए पनि काठमाडौंलगायत ग्रामीण र सहरी क्षेत्र मिलाएर फाइभजी परीक्षण गर्ने योजना टेलिकमको छ ।


क्लिकमान्डु