हिमालयन डिस्टिलरीको नाफामा सामान्य सुधार
काठमाडौं । गत आर्थिक वर्षमा हिमालयन डिस्टिलरीको नाफामा सामान्य सुधार देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४ करोड १३ लाख ९६ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले गत आवको असार मसान्तसम्म आइपुग्दा १ अर्ब ५ करोड ५२ लाख ९१ हजार ७९४ रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा कम्पनीको नावला १.३३ प्रतिशतले मात्रै बढेको छ ।
कम्पनीको नाफामा सामान्य सुधार आएको भएपनि उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने उल्लेख्य सुधार आएको छ ।
अघिल्लो आवको असार मसान्तमा उत्पादन बिक्री गरेर ६ अर्ब ५० करोड ७० लाख ८१ हजार २१० रुपैयाँ रहेको थियो । गत असार मसान्तमा आइपुग्दा बढेर ७ अर्ब ५८ करोड ३० लाख ३० हजार रुपैयाँ पुगेको छ ।
यता कम्पनीको उत्पादन गर्ने वस्तुको खर्च १३ करोड ९४ लाख ६९ हजार रुपैयाँबाट बढेर २१ करोड ३८ लाख ६६ हजार रुपैयाँ पुगेको छ । वस्तुको उत्पादन खर्च बढेको कम्पनीको उत्पादित वस्तुको बिक्री वितरण खर्च पनि बढेको छ । अघिल्लो असार समान्तमा ४४ करोड २१ लाख ८० हजार रुपैयाँ रहेकोमा गत आवको असार मसान्तसम्म आइपुग्दा ६३ करोड ४४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको सञ्चालन मुनाफा घटेर १ अर्ब ४६ करोड ९१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४७ करोड ६४ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
१ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ४४ लाख ८१ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ ५० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँ २२ पैसा रहेको छ ।