सेयरका बादशाह राकेश झुनझुनवालाको निधन



एजेन्सी । चर्चित सेयर बादशाह राकेश झुनझुनवालाको निधन भएको छ ।

भारतीय वारेन बफेटका नामले समेत परिचित झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भएको हो ।

आयकर विभागका अधिकारीका छोरा झुनझुनवाला भारतीय सेयर बजारमा बिग बुलको नामले चिनिन्छन् ।

उनले हालैमात्र आकाशा एयरको सुरुवात गरेका थिए ।

झुनझुनवालाको आइतबार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

झुनझुनवालासँग ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थियो ।

झुनझुनवाला सन् १९८५ मा ५ हजार रुपैयाँ लगानी गरेर सेयर बजारमा प्रवेश गरेका थिए । उनले सन् १९८६ मा पहिलो सेयर बजारबाट पहिलो पटक नाफा कमाएका थिए ।

उनले ५ हजार रुपैयाँको सेयर लगानी गरेर टाटा टिको सेयर प्रतिकित्ता ४३ रुपैयाँमा खरिद गरेर ३ महिनापछि १४३ भारतीय रुपैयाँमा बिक्री गरेका थिए । उनको पछिल्लो ९ वर्षमा नेटवर्थ ४ गुणाले बढेको थियो ।

झुनझुनवालाले टाइटन, स्टार हेल्थ, मेट्रो ब्राण्ड, टाटा मोटर्स, क्रिसिल लगायतका कम्पनीमा लगानी गरेका थिए । सन् २०१७ टाइटन कम्पनीको सेयर तीव्र गतिमा बढ्दा एकैदिन ९ अर्ब भारतीय रुपैयाँ कमाएका थिए ।

झुनझुनवाला भारतका ३६ औं धनी व्यक्ति थिए । झुनझुनवालाले इग्लिस विग्लिस, शमिताभ र एण्ड नामक फिल्ममा निर्माता थिए ।


क्लिकमान्डु