ब्याज बढ्दा निर्माणाधिन पाँचतारे ‘हिल्टन’को लगानी बढ्यो, प्रतिरुम लगानी करिब ४ करोड



काठमाडौं । कोरोना महामारी, ब्याजदर वृद्धि र तरलता अभावका कारण नक्सालमा निर्माणधिन पाँचतारे होटल ‘हिल्टन’को लगानी बढेको छ ।

सन् २०१८ देखि काठमाडौंको नक्सालमा निर्माण शुरु भएको हिल्टन होटल निर्माणको भौतिक प्रगति ६१ प्रतिशत पुगेको छ । र, होटल सञ्चालनको निर्धारित समय धकेलिएर सन् २०२३/२४ सम्म पुगेको छ ।

कोरोना महामारीलगायतका विभिन्न कारण निर्माणमा भएको ढिलाइ तथा बढ्दो खर्चका कारण होटलको लगानी बढेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार शुरुवाती समयमा ६ अर्ब ६८ करोड ३० लाख रुपैयाँ लगानी हुने अनुमान गरिए पनि हाल ८३ करोड ४० लाख थप ऋणसहित लगानी करिब ८ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीका अनुसार सन् २०१८ मा होटल निर्माणको काम शुरु भइ तीन वर्षमा अर्थात् २०२१ मा सम्पन्न भइसक्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण निर्माण समय लम्बिएको थियो ।

तत्कालीन समयमा होटलको नाम डबलट्री हिल्टन राखिएको थियो भने १३५ वटा रुम तय गरिएको थियो । तर पछि होटलमा थप ३९ वटा रुम थप गर्दै कुल रुमको संख्या १७४ पुर्याइयो भने होटलको नाम परिवर्तन गरी हिल्टन राखिएको थियो ।

कम्पनीका अनुसार शुरुमा प्रति रुम २ करोड ८० लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिए पनि हाल लगानी बढेर प्रति रुम ३ करोड ८० लाख रुपैयाँ बनाइएको छ । होटल निर्माणका लागि कम्पनीले ७५:२५ अनुपातमा ऋण लिएको छ ।

कम्पनीले होटलको लगानी बढ्नुमा पछिल्लो २ देखि ३ वर्षको अवधिमा बढेको ब्याजदरलाई कारक मानेको छ । साथै, तरलता अभावका कारण बैंकहरुले बढाएको बेसरेट र प्रिमियमका कारण लागत बढेको कम्पनीको भनाइ छ । र, आगामी दिनमा ब्याजदरमा अझै उतारचढाव देखिन सक्ने कम्पनीको भनाइ छ ।

पछिल्लो समय मुलुकभर तथा विशेष गरी काठमाडौंमै पनि विभिन्न ब्राण्डमा लक्जरी होटलहरु निर्माण भइरहेको रकेही होटलहरु निर्माण हुने तयारीमा भएकाले आगामी दिनमा होटल क्षेत्रमा समेत तीव्र प्रतिष्पर्धा हुने कम्पनीको भनाइ छ । कम्पनीको मुख्य आम्दानीको स्रोत विदेशी पर्यटकमा निर्भर रहने समेत कम्पनीको भनाइ छ ।

नेपाल सरकारले पर्यटन प्रबर्द्धनमा अग्रसरता लिएको र सहुलितय समेत दिएको भन्दै कम्पनीले बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा गर्ने कर्जा प्रवाहको सीमाका कारण आगामी दिनमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने समेत अपेक्षा गरेको छ ।

कम्पनीले होटल निर्माण शुरुगरेसँगै हिल्टनसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो । हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड बेलायत हिल्टन वर्ल्डवाइड होल्डिङ इंकको स्वामित्व भएको कम्पनी हो । जुन अमेरिकन मल्टिनेशनल हस्पिटालिटी कम्पनी हो । यस कम्पनील सन् २०२० जुन महिनासम्म विश्वका ११८ वटा देशमा ६ हजार २१५ वटा होटल तथा रिसोर्टका ९ लाख ८३ हजार ४६५ वटा रुमको व्यवस्थापन गर्दै आएको छ ।

सन् २०१२ मा स्थापना जगदम्बा हस्पिटालिटी ग्रुप प्रालि अन्तर्गतको हिल्टन होटलमा शंकर ग्रुपका साहिल अग्रवालको एकल लगानी छ । शंकर ग्रुपले मुलुकमा ४० वर्षदेखि विभिन्न्न व्यापार व्यवसायमा लगानी गर्दै आएको छ भने साहिल अग्रवालसँग ट्रेड तथा उद्योगमा २० वर्षको अनुभव छ । शंकर ग्रुपले हाल उत्पादनमुलक उद्योग, ट्रेडिङ, बीमा, जलविद्युत्, घरजग्गालगायतका क्षेत्रमा लगानी गरेको छ ।

कम्पनीले हालै ५ अर्ब २ करोड २० करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । जसमा कम्पनीले ५ अर्ब १२ करोड दीर्घकालीन कर्जा र १ करोड रुपैयाँ बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले हालै इन्फोमेरिक्सनेपालबाट ए फोर रेटिङ प्राप्त गरेको छ ।

हिल्टन होटलमा हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने कम्पनीको भनाइ छ । होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने छ ।

होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुनेछ । दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औं तलामाथि स्वीमिङ पुल रहनेछ । होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् ।

अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवालको भनाइ छ । विदेशी पर्यटकलाई पूर्णरुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ ।


क्लिकमान्डु