‘नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान शुरु
काठमाडौं । ‘नो हर्न’ प्रभावकारी बनाउन कामनपा र ट्राफिक प्रहरीको अभियान शुरु काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ ।
आईतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरेको हो ।
ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले नो हर्न अभियान पहिल्यैबाट सञ्चालन गरिएपनि कोरोना लगायत विभिन्न कारण प्रभावकारी बन्न नसकेकाले अब पुनः अभियानलाई प्रभावकारी बनाइन लागेको जानकारी दिए ।
मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए । उनले सवारी चालकहरुले पनि धैयर्ता राखेर हर्न नबजाइकन यात्रा गर्न र नो हर्नको अभियानलाई सफल बनाउन आवश्यक रहेको बताए ।
‘पहिलादेखि नै लागू भएको हो । यसको अभ्यासलाई पुनः प्रभावकारी बढाउनुपर्छ भनेर यो अभियान शुरु गरेका हौं, जनचेतना फैलाउन आवश्यक पनि भएको छ । भेहिकलहरुबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक समस्या समेत पैदा गरेको छ,’ उनले भने ।
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् । उनले जनचेतनामुलक कार्यक्रमले समाजमा फरक कथा बनाउने बताइन् ।
काठमाडौं महानगरपालिकाले २०७३ साल चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।