ग्लोबल इक्विटी फण्डले पायो भेञ्चर क्यापिटलको अनुमति, भदौसम्म सबैले लाइसेन्स पाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ग्लोबल इक्विटी फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

स्रोतका अनुसार बोर्ड सञ्चालक समितिको पछिल्लो बैठकले ग्लोबल इक्विटी फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बोर्डको निर्णयसँगै फण्डलाई भेञ्चर क्यापिटल व्यवसाय सञ्चालन गर्न बाटो खुल्ने भएको छ ।

धितोपत्र बोर्डमा आवेदन दिएका १७ वटा कम्पनीमध्ये ९ वटा छनोट भएका थिए । ९ वटालाई बोर्डले पूर्वाधार तयार बनाउन निर्देशन दिएको थियो । ९ वटामध्ये एउटाले अनुमति पाएसँगै बाँकी ८ वटा पूर्वाधार निर्माणको तहमा छन् ।

र्पूाधार तयार गरेका, आवश्यक कागजात पुरा गरेका थप ३ वटा कम्पनीले अर्को साता अनुमति पाउने भएका छन् । धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्रकृया पूरा गरेर आए सबै कम्पनीलाई भदौसम्म अनुमतिपत्र दिने बताए ।

बोर्डमा आवेदन दिएर बोर्डले तोकेको मापदण्ड पूरा गरेका कम्पनीलाई पूर्वाधार बनाउन निर्देशन दिएसकेको छ ।

बोर्डले पुूर्वाधार तयार पार्न आध्यान्त फण्ड लिमिटेड, अवसर फण्ड लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, नबिल इन्भेष्टमेन्ट बैंकिङ र एनआईबीएल एस क्यापिटललाई निर्देशन दिइसकेको छ ।

यी ८ कम्पनीमध्ये दुई वा तीन वटाले अर्को साता अनुमति पाउने सम्भावना रहेको बोर्ड निकट स्रोतको भनाइ छ । पूर्वाधार तयारको काम कम्पनीहरुले जति छिटो त्यति छिटो अनुमितपत्र दिने तयारीमा बोर्ड छ । अध्यक्ष हमालका अनुसार भदौसम्म भने योग्य सबै कम्पनीले अनुमति पत्र पाउने छन् ।

योसँगै बोर्डको नीति तथा कार्यक्रम कार्यान्वयन पनि शुरु गरेको छ । बोर्डका अध्यक्ष हमालले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको ९ नम्बर बुँदामा ‘भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसायिक ज्ञान परिचालन गर्न सक्नेगरी अनुमतिपत्र प्रदान गरी सम्मुन्नतिको दायरा बढाइनेछ’ भन्ने उल्लेख थियो ।

उक्त नीति कार्यान्वयमा आएको छ । हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नै भेञ्चर क्यापिटललाई अनुमित दिने काम अन्तिम चरणमा पुगेको बताएका थिए । अध्यक्ष हमालले नीति तथा कार्यक्रम प्रस्तुत गरेको डेढ सातामा नै कार्यान्वयमा आएको हो ।


क्लिकमान्डु