लगानीकर्ताको हित नसोच्ने हो भने धितोपत्र बजार सुरक्षित हुँदैनः सेबोन अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्र बजारको भविश्य राम्रो बनाउनका लागि लगानीकर्ताहरूको हितमा काम गर्नुपर्ने बताएका छन् ।

बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले लगानीकर्ताको विश्वास कायम रहे मात्र धितोपत्र बजारको विकास हुने बताए ।

‘लगानीकर्ताकै कारण धितोपत्र बजार छ,’ उनले भने, ‘लगानीकर्ताको हित सोच्ने हो भन्दै मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।’

धितोपत्र बजारमा समस्या र चूनौती धेरै रहेको उल्लेख गर्दै उनले चूनौतीभित्र नै सम्भावना रहेको बताए ।

बोर्डमा अध्यक्षको जिम्वेवारी पाएको पाँच महिना पूरा भएको अवस्थामा बजारका सम्बन्धमा यसअघि भएका कमिकमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाइ छ ।

बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औल्याउँदै उनले बुक बिल्डिङ विधिलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए ।

बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यही वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन् । एसएमइ प्लेटफर्म आगामी दुई महिनाभित्र निर्माण गरिसक्ने लक्ष्य पनि हमालको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा बजारको जोखिम बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताए ।

मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालका अध्यक्ष मेखबहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यन्यनका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पुँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउनु पर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्ता पुँज भन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए ।

उनले अहिले भइरहेको कारोबारमध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहिमा पर्ने उनले बताए ।

उधारो कारोबार गर्ने लगानीकर्ताको सेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे ।

त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयाँलले धितोपत्र बजारमा ८० प्रतिशत फाइनान्सियल सेक्टरको सहभागीता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । उनले आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्नेमा बताए ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायणप्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए ।

नियामक निकाय बोर्डलाई जवाफदेहि सहितको स्वायतता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेकोे कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए ।


क्लिकमान्डु