शुभश्री अग्नि सिमेन्टको व्यापार २८ प्रतिशतले बढ्यो, ११ महिनामा २ अर्बको कारोबार



काठमाडौं । शुभश्री अग्नि सिमेन्ट उद्योग प्रालिको व्यापार २८ प्रतितशले बढेको छ । कम्पनीको सन् २०२० को तुलनामा सन् २०२१ मा २८ प्रतिशतले व्यापार बढेको हो

कम्पनीले सन् २०२० मा १ अर्ब ९३ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ को सोही अवधिमा कम्पनीले २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको जनाएको छ ।

त्यस्तै, कम्पनीले सन् २०१९ मा २ अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । क्लिङ्करसँगै ग्रान्डिङ उद्योग सञ्चालन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ को ११ महिनाको अवधिमा २ अर्ब १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीअनुसार व्यापार बढेपनि मूल्य घट्दा नाफा घटेको छ । कम्पनीले सन् २०२१ मा पीपीसी सिमेन्ट प्रतिबोरा ४३० रुपैयाँ र ओपीसी सिमेन्ट प्रतिबोरा ५१८ रुपैयाँमा बिक्री गरेका थिए । जसले गर्दा नाफा घटेको छ ।

कम्पनीले सन् २०२० मा पीपीसी प्रतिबोरा ४९६ र ओपीसी ५७० रुपैयाँमा बिक्री गरेका थिए ।

सन् २०२० मा कम्पनीले ३५.९४ प्रतिशतले नाफा कमाएकोमा सन् २०२१ मा व्यापार बढी गरेपनि मूल्य घट्दा २९.३० प्रतिशत मात्रै नाफा कमाएको छ ।

कम्पनीले सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा पदार्थ कोइला, चुनढुङ्गा, जिप्सम, क्ले, आइरन ओर र फ्लाई एस विभिन्न देशबाट आयात गरी उत्पादन गर्दै आएको छ ।

साथै, कम्पनीले दुई ठाउँबाट चुनढुङ्गा उत्खनन् गर्दै आएका छन् । कम्पनीले प्युठानबाट ८ लाख ६० हजार मेट्रिक टन र दाङबाट ४ लाख ३० हजार मेट्रिक टन चुनढुङ्गा उत्खनन्का लागि भूगर्भ तथा खानी विभागबाट अनुमति पाएको कम्पनीले जनाएको छ ।

उक्त चुनढुङ्गा खानीबाट उत्पादन भएको चुनढुङ्गाबाट दैनिक १२ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्ट उत्पादन गर्न ४६ वर्षसम्म पुग्ने कम्पनीको भनाइ छ ।

कृष्ण प्रसाद पोखरेल अध्यक्ष रहेको कम्पनीको दैनिक क्लिङ्कर उत्पादन क्षमता ७ सय मेट्रिक टन छ भने १२ सय मेट्रिक टन ग्रान्डिङ सिमेन्टको उत्पादन क्षमता छ ।

केयर रेटिङ नेपालले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि कम्प्नीलाई ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँको रेटिङ गरेको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ५ करोड ८६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ६६ करोड रुपैयाँको रेटिङ गराएको छ ।


क्लिकमान्डु