नबिल बैंकको नाफा करिब ५ अर्ब, लाभांश क्षमता ४०%



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब ५२ करोड रुपैयाँ थियो ।

नबिल बैंकले एनबी बैंकलाई गाभेर असार २७ गते एकीकृत कारोबार गरेको थियो । असार २६ सम्म एनबी बैंकले कमाएको नाफा बैंकको रिजर्बमा गएको छ । सेयर स्वाप अनुपात र एनबीले कमाएको पैसा रिजर्बमा गएको हुँदा बैंकको रिजर्ब निकै बढेको देखिएको छ ।

असार मसान्तसम्म बैंकको रिजर्बमा २६ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।

१००:४३ को अनुपातले एनबीलाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड पुगेको छ । नबिल बैंकले गत आर्थिक वर्षको नाफा तथा स्वाप रेसियोबाट आउने रकमले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९ अर्ब १२ करोड रहेको जनाएको छ ।

नबिलले आफ्नो नाफाबाट सेयरधनीलाई ३ अर्ब ३७ करोड बाँड्न मिल्ने तथा एनबीलाई मर्ज गर्दा आएको व्यवसायिक लाभबाट ५ अर्ब ७४ करोड गरेर ९ अर्ब १२ करोड बराबरको रकम सेयरधनीलाई वितरण गर्न मिल्ने जनाएको छ ।

यसबाट नबिल बैंकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिनमिल्छ । वार्षिक साधारणसभा गर्ने समयमा भने रकम फरक हुन्छ ।

बैंकले निकालेको अपरिस्कृत वित्तीय विवरणको आधारमा लाभांश दिएमा नबिलले ४ वर्षपछिकै सबैभन्दा बढी लाभांश दिनसक्छ । एनबीलाई गाभेको कारण नबिल बैंकको निक्षेपको आकार ३ खर्ब २६ खर्ब पुगेको छ ।

जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । यस्तै कर्जा ३ खर्ब १ अर्ब पुगेको छ । एनबीलाई गाभेपछि नबिल अहिले निक्षेप,कर्जा तथा पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक भएको छ ।

असार मसान्तसम्म बैंकको पुँजीकोष अनुपात १३.४४ प्रतिशत छ । अघिल्लो वर्ष १२.७७ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा भने बैंकको खराब कर्जा भने बढेको छ । ०.८४ प्रतिशत अघिल्लो वर्ष असार मसान्तमा खराब कर्जा रहेकोमा यो वर्ष १.५४ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म बैंकको कर्जा निक्षेप अनुपात ८९.७९ प्रतिशत रहेको छ । बैंकको बेसरेट अघिल्लो वर्षको ५.८६ प्रतिशतबाट यो वर्ष असार मसान्तमा ८.८७ प्रतिशत पुगेको छ । बैंकले अघिल्लो वर्ष ३.७९ प्रतिशत स्प्रेडदरमा काम गरेको थियो । यो पटक ४.२२ प्रतिशतमा काम गरेको छ ।


क्लिकमान्डु