अर्थसचिव मधु मरासिनीको सरुवा



काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

शर्माले अर्थसचिव मरासिनीको सरुवा भएको बताएपनि मरासिनीको सरुवा कुन निकायमा भयो तथा अर्थ सचिवको जिम्मेवारी कसले पायो भन्ने विषयमा जानकारी दिएनन् ।

गत आइतबार जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थ मन्त्री शर्माको राजीनामा माग गरिएपछि गत असार २२ गते पनि सचिव मरासिनी बिदामा बसेका थिए।

तर, शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि भने मरासिनी काममा फर्किएका थिए ।

बजेट निर्माण क्रममा अनाधिकृत व्यक्ति संलग्न गराएको आरोपका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिले बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न नभएको प्रतिवेदन दिएपछि शर्मा अर्थमन्त्री नियुक्त भएका थिए।

शर्मा मन्त्रालयमा फर्किएपछि मरासिनीले शर्मासँग काम नगर्ने भन्दै विदामा बसेका थिए।


क्लिकमान्डु