गहुँ र चिनी आयात गर्न मन्त्रालयले माग्यो निजी क्षेत्रसँग प्रस्ताव



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गहुँ तथा चिनी आयात गर्नका लागि निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ ।

मन्त्रालयले सूचना जारी गर्दै गहुँ र चिनी आयातका नेपालबाट आयातकर्ता र भारतबाट निकासी गर्ने निकासीकर्तालगायत सम्पूर्ण विवरण पेश गरी आयातका लागि प्रस्ताव माग गरेको हो ।

भारत सरकारले गत जेठदेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारत सरकारले आन्तरिक उत्पादन निकै कम भएको र रुस–युक्रेन युद्धका कारण गहुँ निर्यातमा पनि असर परेकाले प्रतिबन्ध लगाएको थियो । भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्रत्यक्ष असर देखिएको छ ।

त्यस्तै, गहुँ आयातमा प्रतिबन्धले नेपाली बजारमा असर देखिएसँगै नेपाल सरकारले सहज बनाउन पहल गरेको छ । मन्त्रालयले आयातकर्ता, भारतको निकासीकर्ता, सिपिङको गन्तव्य, खरिदकर्ताको प्रमाणपत्र, के प्रयोजनाका लागि, सिपमेन्ट र आयातका लागि परिमाणसहित अन्य आवश्यक कागजात पेश गरी गहुँ र चिनी आयात गर्न इच्छुक व्यवसायीलाई प्रस्ताव पेश गर्न माग गरेको छ ।

भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि चिनीमा भने प्रतिबन्ध लगाएको छैन । तर, चिनी निर्यातका लागि विशेष स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । साथै, गहुँ पनि विशेष स्वीकृतिमा निर्यात गर्न पाउने व्यवस्था भारत सरकारले गरेको छ ।

नेपाल सरकारले विशेष अनुरोधमा गहुँ तथा चिनी आयातका लागि प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ । भारतले सरकारले नेपालमा हुने निकासीमा भने गहुँमा प्रतिबन्ध नलागेको बताएको छ ।

भारतीय वाणिज्यमन्त्री पियुष गोयलले वाणिज्यमन्त्री दिलेन्द्र बडूसँगको भेटमा गहुँ निर्यातमा प्रतिबन्ध नलागेको बताएका थिए । नेपालको लागि प्रतिबन्ध नलागेको बताएपनि गहुँ आयात भने भएको छैन ।


क्लिकमान्डु