अर्थमन्त्री शर्माको सुस्त र कमजोर हाउभाउ



काठमाडौं । गत वर्ष असार २८ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा आक्रमक देखिएका थिए ।

सर्वाेच्च अदालतले प्रतिगमन सच्चाएको भन्दै गठबन्धन सरकारले संविधान बमोजिम जनताको अपेक्षा पूरा गर्न काम गर्ने अर्थमन्त्री शर्माले दाबी गरेका थिए ।

पदभार ग्रहणपछि मन्त्रालयको सुर्वण हलमा उपस्थित कर्मचारीलाई सम्बोधन गर्दै पुँजीगत खर्च मासिक १० प्रतिशत गर्ने गरी काम गर्न शर्माले निर्देशन समेत दिन भ्याए ।

तर, आइतबार (साउन १५ गते) दोस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हान पुग्दा अर्थमन्त्री शर्माको हाउभाउ सुस्त, मौन, निराश र कमजोर देखियो ।

अर्थ मन्त्रालयका एक सहसचिव मन्त्री शर्मालाई सत्तारुढ गठबन्धनले विगतमा जसरी आफ्नो बोलीले विवादिन नहुन निर्देशन दिएकाले शर्माले पदभार ग्रहण गर्दा धेरै नबोलेको बताउँछन् ।

‘गत वर्ष उहाँ गलत कामभन्दा पनि गलत बोलीले बढी विवादित हुनु भयो,’ ती सहसचिव भन्छन्, ‘हामीले उहाँलाई धेरै नबोल्न आग्रह गरेका थियौं । उहाँले मान्नु भएन् । जसले गर्दा उहाँ आफैँ पटक-पटक विवादमा पर्नु भयो ।’

अर्थसचिव मधु मरासिनी पोखरा गएपछि मन्त्रालयको तर्फबाट राजस्व सचिव कृष्णहरि पुष्कर कर्णले संक्षिप्त स्वागत मन्तव्य राखे । र्णले मन्त्री शर्मालाई कर्मचारीतन्त्रको पूर्णसहयोग रहने विश्वास दिलाए ।

‘जसको नेतृत्वमा बजेट लेखेका थियौं, उहाँकै नेतृवमा बजेट कार्यान्वयन गर्न पाउँदा हर्षित भएका छौं,’ कर्णले भने ।

विगतका अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन हुँदा होस् या सार्वजनिक कार्यक्रममा लम्बेतान भाषण गर्ने शर्मा आइतबार सुस्त सुनिए ।

शर्माले सम्बोधनको शुरुमा पछिल्लो समय विश्व अर्थतन्त्र समस्यामा रहेको बताए । शर्माले चालु आर्थिक वर्षको मूल उद्देश्य र सिद्दान्त आयात प्रतिस्थापन गर्नु, निर्यात बढाउनु र विदेशी मुद्राको सञ्चिति बढाउनु रहेको भन्दै विश्व अर्थतन्त्रमा देखिएको समस्याबाट नेपाली अर्थतन्त्रलाई जोगाउने बताए ।

‘अहिलेको विश्वको आर्थिक अवस्था राम्रो छैन । हामीले हाम्रो देशको अर्थतन्त्रलाई सवलिकरण गर्नुपर्ने अवस्था छ,’ शर्माले भने, ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयन भएसँगै देशको अर्थतन्त्र सही दिशामा जान्छ भन्ने विश्वास छ । ’

गत वर्ष पदबाहली गरेकै दिन कर्मचारीलाई विभिन्न निर्देशन दिएका शर्माले यसपटक भने कर्मचारीलाई विश्वासमा लिएर काम गर्ने संकेत गरे ।

‘मन्त्रालयमा कार्यरत सचिवज्यू र विभिन्न तहका साथीहरुले जसरी एक वर्ष काम गरेका थियौं । आगामी दिनमा पनि त्यहीँ किसिमको सुमधुर सम्बन्ध सहित सहकार्य गर्नेछु,’ शर्माले भने, ‘तपाईंहरु प्रति विश्वास छ ।’

शर्माले चालु आर्थिक वर्षको बजेट निर्माण र करका दर हेरफेर गर्दा प्रणालीभित्रका व्यक्तिलाई अविश्वास गरी अनाधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको थियो ।

शर्माले अर्थ प्रशासनमा काम गरेका व्यक्तिभन्दा पनि अर्थ मन्त्रालयका काम नगरेका व्यक्ति ल्याएर मन्त्रालय सञ्चालन गर्न खोज्दा समस्या भएको एक सहसचिव बताउँछन् ।

‘उहाँले कर्मचारीलाई विश्वासमा लिन सक्नु भएको भए राजीनामा दिएर बाहिरिने अवस्था आउने थिएन्,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, उहाँले सबै काम आफैं मात्रै गर्न खोज्नु भयो । जसले गर्दा यसपटक कर्मचारीप्रति विश्वास छ भनेर भन्न खोज्नु भयो होला ।’

शर्मालाई करका दर हेरफेर गर्दा अनाधिकृत व्यक्ति संलग्न गराएको आरोप लगेपछि गत असार २२ गते अर्थमन्त्रीबाट राजिनामा दिनु पर्याे ।

प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका शर्माले आफू हजारौं छानबिनका लागि तयार रहेको र आफूले केही गल्ती नगरेको दाबी गरेका थिए ।

संसदीय छानबिन विशेष समितिले शर्माले दाबी गरे जस्तै गरी बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति संलग्न नभएको प्रतिवेदन दिएको छ ।

छानबिन समितिले शर्मालाई निर्दोष साबित गरिदिएपछि शर्मा फेरि अर्थमन्त्री बनेका त छन् । तर, उनको मुहारका विगत जस्तो खुसी देखिन सकेको छैन् ।

शर्माले फेरि अर्थमन्त्रीको जिम्मेवारी दिएको गठबन्धन दलका सबै नेताको नामै लिएर धन्यावाद दिए । सायद संसदीय छानबिनका क्रममा नरम व्यवहार गरेकाले हुनुपर्छ शर्माले प्रतिपक्षी एमालेप्रति कृतज्ञ सुनिए ।

शर्मालाई संसदीय छानबिन विशेष समितिले निर्दोष साबित गरेको छ । तर, समाजिक सञ्जाल हेर्दा शर्मा निर्दाेष रहेको मान्न कोही तयार देखिएका छैनन् ।

प्रतिपक्षी नेकपा एमालेले नै शर्मालाई निर्दोष साबित गर्न महत्वपूर्ण भूमिका खेलेपछि सत्तारुढ दलको योजना अनुसार छानबिन समितिले प्रतिवेदन बुझाएको थियो ।

नेपाली कांग्रेसको संस्थापन इतरका एक प्रभावशाली नेता विवादित जनार्दन शर्मालाई फेरि अर्थमन्त्रीको जिम्मेवारी दिनु उपयुक्त नभएको बताउँछन् ।

‘नेकपा एमालेले नै शर्मालाई पदमा फर्किने वातावरण बनाइदिएको छ,’ उनी भन्छन्, ‘मैले शर्माको नियुक्ती गलत हो भनेर विरोध गर्नुको के अर्थ हुन्छ ?’

शर्माले पुनः अर्थमन्त्रीको जिम्मेवारी सम्हादै गर्दा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्रालयका देखिएनन् । अर्थसचिव मरासिनीले पनि शर्मालाई अवज्ञा गरे । यस्तै अर्थमन्त्रालयका केही सहसचिवले समेत सरुवा दिन चाहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्माले राजीनामा दिएको तेस्रो दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको उद्योगी व्यवसायीको प्रतिनिधिलाई बजेट निर्माण गर्दा शर्माले गल्ती नगरेको बताएका थिए ।

शर्माले राजीनामा दिएको दिन देखिनै प्रधानमन्त्री देउवा शर्मालाई फेरि जिम्मेवारी दिने विषयमा प्रतिवद्ध थिए ।

देउवाले संसदीय छानबिन समितिले शर्मालाई दोषी देखाउन नसक्ने समेत बताउँदै आएका थिए ।

अन्ततः शर्माले संसदीय छानबिन समितिबाट सफाइ पाएका छन् । अर्थमन्त्रालयका केही उच्च अधिकारीलाई संसदीय छानबिन समितिबाट सफाइ पाएर पदमा फर्किदा शर्मा निकै आक्रामक हुने लागेको थियो । तर, त्यस्तो भएन् ।

शर्माको मौनताको अर्थ के हो? उनले आगामी दिनमा कसरी काम गर्छन् ? लगायत प्रश्नको उत्तर सोमबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गर्ने अर्थसचिवले पनि केही छनक दिनेछ ।

शर्माले आफूलाई लागेको आरोप र सफाइको विषयमा समेत पदबाहली गर्दा एक शब्द समेत बोलेनन् ।

आइतबारको घटनाक्रमबाट अर्थमन्त्री शर्माले आफूलाई लागेको आरोप गलत साबित गर्दै काम गर्छु भन्ने देखाउन खोजेको अर्थ मन्त्रालयका एक अधिकारीको विश्लेषण छ ।

‘शर्माले राम्ररी काम गर्छु भनेर पत्याउने अवस्था त छैन । संसदीय निर्वाचन संनिकट छ’, अर्थमन्त्रालयका एक अधिकारी भन्छन्, ‘पदबाहली गर्दा मौन किन थिए भन्ने जवाफ समेत कामबाट दिन्छु भन्ने उहाँकाे साेच होला । तर, अवस्था सहिलो छैन ।’


क्लिकमान्डु