समयमै ऋण नतिर्दा १५ दिनमै थपिए ९२७ व्यक्ति तथा कम्पनी कालोसूचीमा



काठमाडौं । चालु आवको १५ दिनमा कालोसूचीमा पर्नेको संख्या बढेको छ ।

कर्जा सूचना केन्द्रका अनुसार साउन १५ गतेसम्म मात्रै ९२७ जना व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । केन्द्रका अनुसार गत आर्थिक वर्षमा १५ हजार ९९९ जना कालोसूचीमा परेका थिए ।

कुनै पनि कम्पनी वा व्यक्तिले बैङ्कबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्दछ । साथै कुनै व्यक्तिले कसैलाई चेक दियो र चेकमा पर्याप्त रकम छैन भने उ पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने गरेको छ ।

बैङ्कले भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।

बैङ्कले नयाँ कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीकरण गर्न, पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा सूचना लिनुपर्ने छ ।

यसरी कर्जा सूचना माग भएको खण्डमा कर्जा सूचना केन्द्रले बढीमा ३ कार्य दिनमा कर्जा सूचना उपलब्ध गराउनु पर्नेछ । कर्जा सूचना केन्द्रमा २५ वटा वाणिज्य बैङ्क, लुम्बिनी र महालक्ष्मी विकास बैङ्क तथा १५ वटा फाइनान्स कम्पनी आबद्ध छन् ।


क्लिकमान्डु