जनार्दन शर्मालाई संसदीय समितिको ‘क्लिनचिट’, एमालेको फरक मत
काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले संसदीय समितिबाट सफाइ पाएका छन् ।
अर्थमन्त्रीको रुपमा बजेट निर्माण अनाधिकृत व्यक्तिलाई संलग्न गराएर करको नीतिमा चलखेल गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।
जनार्दन शर्माले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गते राती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो । अर्थमन्त्रालयले सूचना हक अन्तर्गत सीसीटिभी हेर्न माग भएको निवेदनमा डिलिट भएको पत्र दिएको थियो ।
त्यसपछि भने प्रतिनिधिसभामा भएको दवावको कारण अर्थमन्त्री शर्माले असार २३ गते पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्य छानबिन समिति गठन गरेको थियो ।
१० दिनको समयभित्र संसदीय समितिले छानबिन प्रतिवेदन दिनुपर्ने थियो । यसको थपिएको म्याद शुक्रबार सकिन लागेको छ ।
समितिको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन लेखनको काम सम्पन्न गरिसकेको छ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई शुक्रबार प्रतिवेदन पेस गर्नेछ ।
१७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथि लागेको आरोप पुष्टि प्रमाण भेटाउन सकेन । समितिले शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको छ । समितिमा एमालेका सदस्यले भने फरक मत राखेका छन् । समितिले एमालेको फरक मत सहितको प्रतिवेदन सभामुखलाई बुझाउने छ ।
संसदीय समितिले जनार्दन शर्मा सहित बजेटमा निर्माणमा संलग्न भएका अर्थसचिव,राजस्व सचिव सहित उच्च अधिकारीसँग बयान लिएको थियो । जसमा सबैले अनाधिकृत व्यक्ति संलग्न भएको कुरा स्वीकार गरेका थिएनन् ।
यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । १७ दिनको अध्ययनको क्रममा शर्मा विरुद्ध प्रमाण नभेटिएपछि उनले सफाइ पाएको समितिका एक सदस्यले बताए ।