नेपालले वैदेशिक व्यापार गरेका १७१ देशमध्ये ३१ वटासँग मात्रै नाफा



काठमाडौं । नेपालले गत वर्ष २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले आर्थिक वर्ष २०७८/७९ मा २१ खर्बको वैदेशिक व्यापार गरेकोमा १९ खर्ब २० अर्बको आयात गरेको भने २ खर्बको निर्यात गरेको छ ।

नेपालले गत वर्ष हालसम्मकै उच्च वैदेशिक व्यापार गरेको छ । नेपालले सो अवधिमा १७१ वटा देशसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

नेपालले गत वर्ष १७१ देशसँग वैदेशिक व्यापार गर्दा ३१ वटासँग मात्रै घाटा भएको छैन । अन्य १४० वटा देशसँग नेपालले उच्चव्यापार घाटा व्यहोरेको छ ।

नेपालले वैदेशिक व्यापार गर्दा गत वर्ष डेनमार्कबाट उच्च नाफा कमाएको छ । नेपालले ५४ करोड ३७ लाख ३० हजार रुपैयाँको आयात गर्दा ७६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँको निर्यात गरेको छ । जसमा नेपालले २२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यसैगरी, नेपालले गत वर्ष कम्बोडियामा वैदेशिक व्यापार गर्दा १६ करोड ९२ लाख रुपैयाँ, अल्लेरियाबाट ६ करोड ४६ लाख ८० हजार, नाइजेरबाट ५ करोड २५ लाख ६७ हजार, गुनियाबाट २ करोड ४० लाख, न्यू क्यालेडोनियाबाट २ करोड २४ लाख ६३ हजार, माल्दभ्सबाट अफगानिस्तानबाट १ करोड ३६ लाख ३७ हजार, सेन्ट्रल अफ्रिकन रिपब्लिक ९८ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, नेपालले यमन, क्रोसिया, जाम्बिया, अर्मेनिया, मोनाको, माल्टा, ट्रिनिडाड एण्ड टबागो, अजरबैजान, फिजी, जमैका, माइक्रोनेसिया, बरमुडा, रियरा लिओनी, कंगो, मारुटानीय, घाना, सेनेगल, मोरोक्को, सेन्ट हेलेना, कार्जिस्तान, ग्रेनेडामा वैदेशिक व्यापार गर्दा १० हजादेखि ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

भारतसँग मात्रै साढे १० खर्ब व्यापारघाटा

नेपालले गत वर्ष १७ खर्ब २० अर्ब व्यापारघाटा व्यहोरेकोमा भारतसँग मात्रै साढे १० खर्बको रहेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । वैदेशिक व्यापारमा ठूलो हिस्सा रहेको भारतबाट नेपालले १२ खर्ब १५ करोड रुपैयाँको वस्तु आयात गरेकोमा १ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँको निर्यात गरेको छ । जसमा आयातको तुलनामा निर्यातको अवस्था निकै कमजोर हुँदा गत वर्ष १० खर्ब ४४ अर्ब ९३ करोड रुपैयाँ व्यापारघाटा व्यहारेको छ ।

भारतपछि नेपालले चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोड ४९ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । नेपालले गत वर्ष चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख रुपैयाँको वस्तु आयात गर्दा ८० करोड ८७ लाख रुपैयाँको निर्यात गरेको छ ।

त्यस्तै, इन्डोनेसियासँग ५३ अर्ब २४ करोड ९७ लाख रुपैयाँ, युएईसँग ४७ अर्ब ४५ करोड ११ लाख रुपैयाँ, अर्जेन्टिनासँग ३९ अर्ब ६५ करोड २२ लाख रुपैयाँ, अमेरिकासँग ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ र अष्ट्रेलियासँग २३ अर्ब ३४ करोड रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको छ ।

युक्रेनसँग २१ अर्ब २२ करोड ७६ लाख रुपैयाँ, मलेसियासँग १६ अर्ब ९१ करोड ६ लाख रुपैयाँ, ब्राजिलसँग १२ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ, थाइल्यान्डसँग ११ अर्ब ८८ करोड ९६ लाख रुपैयाँ, क्यानाडासँग १० अर्ब ६३ करोड रुपैयाँ र बंगलादेशसँग १० अर्ब ४८ करोड ५ लाख रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको छ ।

४१ देशमा निर्यात शून्य

नेपालले १७१ वटा देशमध्ये ८ वटा देशबाट कुनै पनि वस्तु आयात गरेको छैन । तर, निर्यातको अवस्था निकै कमजोर भएको नेपालले गत वर्ष ४१ वटा देशमा कुनै पनि वस्तु निर्यात गर्न नसकेको तथ्याङ्कले देखाउँदछ ।

नेपालले १० हजारदेखि साढे ५ अर्बसम्मको ववस्तु आयात गर्दा निर्यात भने शून्य छ ।


क्लिकमान्डु