सिइबीडी हाइड्रोपावरलाई वित्तीय विवरण लुकाएको आरोप, छानविनको माग गर्दै नेप्सेमा उजुरी



काठमाडौं । सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले वास्तविक वित्तीय विवरण लुकाएर लगानीकर्तामा अन्योलता सिर्जना गरेको भन्दै छानविन गर्न नेप्सेमा उजुरी परेको छ ।

कम्पनीले वास्तविक विवरण लुकाएको भन्दै एक लगानीकर्ताले नेप्सेमा उजुरी दिएका हुन् ।

‘मुख्य कम्पनीले सहायक कम्पनी भएमा सहायक कम्पनीको तत्काल समाप्त भएको आर्थिक वर्षको बार्षिक हिसाबको एकप्रति र सो अवधिको त्यस्तो कम्पनीको सञ्चालक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्षको अन्तमा सहायक कम्पनीमा रहेको मुख्य कम्पनीको लगानी विवरण र मुख्य कम्पनी र सहायक कम्पनीको आर्थिक वर्ष बेग्लाबेग्लै भएमा त्यस्तो भिन्न अवधिभित्रमा सहायक कम्पनीमाथि रहेको मुख्य कम्पनीको हक कुनै प्रकारले परिवर्तन भएको रहेछ भने त्यस्तो कुरासहित समावेश गरी मुख्य कम्पनीको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख गर्नुपर्ने व्यवस्था’ कम्पनी ऐनको दफा १४३ मा रहेको छ ।

तर, कम्पनीले त्रैमासिकरुपमा वित्तीय विवरण प्रकाशित गर्दा सहायक कम्पनीको कुनै विवरण उल्लेख नगरेको भन्दै उजुरी परेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको २०७० भदौ २८ गतेको निर्णयअनुसार आर्थिक वर्ष २०१६÷०१७ देखि सूचीकृत संस्थाले समेत एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने र सहायक कम्पनी भएकोमा एनएफआरएस–१० अनुसार हिसाब किताब समावेश भएको विवरण प्रकाशन गर्नुपर्छ ।

तर, यो कम्पनीले उक्त व्यवस्थाको उल्लंघन गर्दै तोकिएको व्यवस्था पालना नगरी वित्तीय विवरण प्रकाशन गरेको छ ।

धितोपत्र सूचीकरण विनियमावली-२०७५ को विनियम २२ को १ (क) मा संगठित संस्थाको प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्ने प्रवधान रहेको छ ।

उक्त व्यवस्था कार्यान्वयन नगरेमा उक्त विनियमावलीको विनियम १६ को १ (घ)मा नेप्सेमा वार्षिक तथा अर्धवार्षिक प्रतिवेदन समयमा पेश नगरेमा सूचीकरण स्थगत, खारेजी तथा पुनः सूचीकरण गर्न सक्ने व्यवस्था गरेको छ ।

उक्त कम्पनीले नियम अनुसार लगानीकर्ताहरुलाई प्रदान गर्नुपर्ने सूचना समयमा जानकारी नदिएकोले सो कम्पनीको संचालक तथा व्यवस्थापनले लगानीकर्तालाई हानी पुर्याउने गलत मनसाय देखिएको उजुरीमा उल्लेख छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण कार्कीले उक्त कम्पनीका विषयमा नेप्सेमा उजुरी परेको र त्यसका बारेमा थप अनुुन्धान गरिरहेको जानकारी दिए ।

सम्बन्धित विभागले यस विषयमा अनुसन्धान गरिरहेको र कमजोरी पाएमा कानूनी कारबाही गर्न नेप्से तयार रहेको उनको भनाइ छ । कम्पनीका विषयमा जारी अनुसन्धान अन्तिम चरणमा रहेको उनको भनाइ छ ।


क्लिकमान्डु